भारतसँग भएका असमान सन्धी–सम्झौता खारेज गर्नुपर्छः गुरुङ

Read Time:2 Minute, 44 Second

रूद्र श्रीसमगर
पोखरा, १४ मंसिर
नवगठित नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य देव गुरुङले विगतमा भारतसँग भएका सबै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने बताएका छन ।


पूर्व नेकपा–माओवादी र पूर्व नेकपा (एकीकृत)बीच एकता भएपछि तमुवान राज्य संयोजन समितिको एकता अधिवेशनमा सहभागी हुन पोखरा आउनुभएका नेता गुरुङले सोमबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भारतसँग विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने बताएका हुन ।
भारतले नेपालसँग भएका विगतका सन्धी सम्झौता उल्लंघन गरी एकपक्षीय रूपमा नाकाबन्दी गरेको भन्दै नेता गुरुङले नेपालले पनि सम्पूर्ण असमान सन्धी सम्झौता भंग भएको घोषणा गर्नुपर्ने बताए । नेपालको आन्तरिक समस्यालाई कारण देखाउँदै भारतले गरेको अघोषित नाकाबन्दीको विकल्पमा नेपालले आत्मनिर्भरताका लागि अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

एक अर्को प्रसंगमा माओवादी नेता गुरुङले अहिलेको नयाँ संविधान विखण्डनकारी भएको भन्दै विद्यमान संकटको निकासका लागि नयाँ आधारमा राजनीतिक दलहरूबीच सहमति गरिनुपर्ने जनाए । आफ्नो पार्टीले अहिलेको संविधान मान्न नसक्ने बताउँदै तराईमा जारी आन्दोलनका जायज माग पूरा गरी देश बचाउन संसद्वादी दलहरूबीच सम्झौताको आवश्यकता रहेको बताए । त्यस्तै, राजनीतिक तहबाटै तराईको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताउँदै गुरुङले सेना परिचालनले द्वन्द्व निम्त्याउने र देशकै अस्तित्व धरापमा पर्ने जिकिर गरे ।
आइतबार सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी)को तमुवान राज्य एकता अधिवेशनले केन्द्रीय सचिवालय सदस्य श्रीनाथ अधिकारी (श्याम) संयोजक, केन्द्रीय सदस्यद्वय हरिबहादुर चुमान (अजित) र रामजी थापा सहसंयोजक रहने गरी ६५ सदस्यीय तमुवान राज्य संयोजन समिति तथा १७ सदस्यीय सचिवालय गठन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %