रूद्र श्रीस मगर
पोखरा, १२ मंसिर
पत्रकार तथा मुक्तककार रूद्र बहादुर श्रीस मगरको मगर भाषाको पहिलो साहित्यिक कृति” पल्झ पल्झै” अर्थात्” घरी–घरीको” शनिबार एक कार्यक्रमका बीच पोखरामा विमोचन गरियो ।
सो कृतिको मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं मगर भाषाका अग्रज साहित्यकार लोक बहादुर थापा मगर, जीत बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलक बहादुर राना मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगर, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गीता थापा मगर र नेपाल मगर महिला संघ कास्कीका वरिष्ठ उपाध्यक्ष नुनु राना मगरले सामूहिक रूपमा विमोचन गरेका थिए ।
कृतिको विमोचनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि मगर भाषाका अग्रज साहित्यकार थापा मगरले मगर भाषा नजान्ने व्यक्ति स्रष्टा श्रीसले मगर भाषा सिकेर साहित्य नै लेख्नु उदाहरणीय भएको बताए । स्रष्टा श्रीसले मगर भाषा नजान्नेका लागि बाटो देखाएको उल्लेख गर्दै मगर भाषा बोल्नेहरूका लागि चुनौती नै भएको बताए । मगर साहित्यमा खडेरी परेका बेला मुक्तककार श्रीसले साहित्यिक कृति प्रकाशन गरेर मगर साहित्यलाई अमूल्य उपहार दिएको भन्दै थापामगरले श्रीसको लेखनी सम्भावनायुक्त भएको उल्लेख गरे ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि जीत बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष लाफा मगरले मगर साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै मगर भाषा साहित्यका उदीयमान प्रतिभा श्रीसले मगर भाषा सिकेर साहित्य लेखन गर्नु सबैका लागि अनुकरणीय कार्य भएको बताए । मगर साहित्य अन्य साहित्यको छायाँप्रति नभइ आफ्नै मौलिक संस्कार, संस्कृति एवं इतिहासमा आधारित भएर लेख्नुपर्ने आवश्यकता औंल्याउँदै लाफा मगरले मगर साहित्यलाई व्यापकता दिन सबै लेखक, साहित्यकारहरू जाग्नुपर्ने बेला आएको बताए ।
नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलक बहादुर राना मगरले मुक्तककार श्रीसले मगर भाषा सिकेर मगर भाषामै साहित्य लेख्नु मगर समुदायकै लागि गर्वको कुरा भएको भन्दै सबैले मगर साहित्यको विकासका लागि कलम चलाउनुपर्ने बताए । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले मुक्तककार श्रीस बहुमुखी प्रतिभाको धनी भएको बताउँदै मगर साहित्यमा कलम चलाएर श्रीसले मगर समुदायलाई ठूलो गुन लगाएको उल्लेख गरे । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गीता थापा मगरले मगर भाषा साहित्यमा खडेरी भएको र अहिलेको चुनौतीपूर्ण बेलामा पनि मुक्तककार श्रीसले साहित्यिक कृति प्रकाशन गरेर प्रशंसनीय कार्य गरेको बताए ।
कृतिको समीक्षा गर्दै नेपाल मगर भूसाल संघका केन्द्रीय अध्यक्ष एवं समीक्षक याम बहादुर बरही मगरले श्रीसको मुक्तक संग्रह अन्त्यन्त उत्कृष्ट बनेको बताए । राष्ट्रप्रेम, माया प्रेम तथा समाज परिवर्तनका स्वरहरू मुक्तकमार्फत् मुखरित भएको भन्दै बरही मगरले समग्रमा संग्रह एउटा पूर्ण साहित्यिक कृति बनेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल मगर महिला संघ कास्कीका वरिष्ठ उपाध्यक्ष नुनु राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सल्लाहकार तिलक प्रसाद पुन मगर, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य परशुराम कोइराला, मुक्तक मञ्च, पोखराका अध्यक्ष सरु लामिछाने, स्रष्टा रूद्र बहादुर श्रीस मगरलगायतले बोलेका थिए । पत्रकार श्रीस पोखराको फेवा टेलिभिजन र कास्की आवाज राष्ट्रिय दैनिकमा कार्यरत छन् । यसअघि श्रीसको जिन्दगीका विरही भाकाहरू (२०६८) नामक नेपाली भाषाको गजल संग्रह प्रकाशित भइसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष फूल कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मीना थापा मगरले गरेका थिए भने उपाध्यक्ष रूद्र बहादुर हितान मगरले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य कुमार थापा मगरले स्रष्टा परिचय दिएका थिए ।
पत्रकार श्रीसको मुक्तक संग्रह “पल्झ पल्झै” विमोचित
Read Time:6 Minute, 5 Second
