मगर समाज इजरायल लगायतका बिभिन्न संघसंस्था सह आयोजक
माया घले मगर ,इजरायल
१३ नोवेम्बर ,२०१५
इजरायलको तेल-अविवमा तिहारको अवसरमा आयोजना गरिएको ‘शुभ दिपावली सप्तरंगी साँझ २०७२’ भव्यताका साथ सम्पन्न भएको छ ।
हाहगना मार्ग १३५ स्थित बेतवारवर हलमा आयोजना भएको उक्त कार्यक्रममा सहभागि हुन नेपालबाट गायक तिलक बम मल्ल र हास्यव्यंग्य कलाकार शैलेन्द्र सिम्खडा इजरायल आएका थिए । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) इजरायल र अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलको संयुक्त आयोजना तथा चितवन समाज इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, मगर समाज इजरायल, रुपन्देही समाज इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, नेपाली नारी आवाज, नारीका लागि नारी र विश्व साहित्य महासंघ शाखा इजरायलको सह-आयोजनामा कार्यक्रम भएको उक्त कार्यक्रममा मल्ल र सिम्खडाको साथमा अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीहरु रहेका थिए ।
देउसी भैलो सहितको उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदुतका प्रतिनिधिको उपस्थितका साथै इजरायलमा सक्रिय नेपाली संघ संस्थाका प्रतिनिधीहरु समेत उक्त कार्यक्रममा उपस्थित थिए ।
गत बैशाख १२, १३ र २९ गते गएको आम विनाशकारी भूकम्पबाट घरबार गुमाई त्रिपालको सहारामा बस्न वाध्य भूकम्प पिडितहरुको लागि गैर आवासिय नेपाली संघ ‘एनआरएन’ले नेपाल सरकारबाट अनुमति पाएको १ हजार घर निर्माण कार्यको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको हो ।