देब पचभैया
पाल्पा, कार्तिक २५ – पाल्पाको तानसेन लगायत ग्रामीण भेगमा देउसी भैले खेल्नेहरुले तिहारको रौनक थपेका छन् ।
साना साना बालबालिकादेखि ठूलावडासमेत देउसी भैलोमा रमाएर तिहारलाई स्वागत गरेका हुन् । टोलटोलका बालबालिका लक्ष्मीको मूर्ति लिएर भैलेनी भन्दै हिडेका छन् । विभिन्न संघसंस्था, राजनीतिक दलसम्वद्ध युवाहरुसमेत भैलो खेल्न जुटेका हुन् ।
मदनपोखरास्थित सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रले दृष्टिविहिन, शारिरीक अपांगता भएकाहरुको समूहमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गरेका छन् ।
तानसेन लाङ्घाली समूहलेसमेत देउसी भैलो खेलेको छ । सहारा कला केन्द्रले पनि देउसी भैलो नाच्दै हिडेको छ । ठूला माइक लिएर हिड्ने र देउसी भैलो नाँच्ने समूह पनि प्रशस्तै देखिएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाले पनि देउसी भैलो कार्यक्रम राखेको छ । उसले चोक चोकमा गएर नाँच्दै सहयोग संकलन गरेको छ । जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीका अनुसार पूराना रक्तिमका गीत देखि लिएर समसायमिक विषयमासमेत देउसी भैलोको सन्देश रहेको छ ।
ग्रामीण भेगमासमेत विभिन्न समूहले देउसी भैलो खेल्दै रमाइलो गरिरहेका छन् ।
