सोनु थापा मगर
बुटवल ,कार्तिक २५ – डा.बाबुराम भट्टराइले आरम्भ गरेको नंयाशक्तिले ब्यापकता पाउँदै गर्दा रुपन्देहीमा पनि नयाँ शक्तिमा लाग्ने ईच्छा भएकाहरुले खुलेरै कार्यक्रम गरेर वावुरामको समर्थनमा सार्बजनिक हुन अपिल गर्न थालेका छन् । बाबुरामले केहि समय अघि रुपन्देहीको बुटवलमा आएर केहि नेता कार्यक्रता र पत्रकारलाई समेत भेटेर फर्किएका थिए ।
नयाँ शक्तिको होडमै रुपन्देहीका ३४ जना पूर्व राज्य समिति सदस्य नयां शक्तिमा होमिएका छन् । बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष बामदेब क्षेत्रीले रुपन्देही जिल्ला समितिबाट वहुमत नेता तथा कार्यकर्ता नयां शक्तिको पक्षमा रहेको दावी गरे । उनले रुपन्देहीका साढे ६ हजार संगठित सदस्य मध्ये साढे ४ हजार नयां शक्तिको पक्षमा रहेको दावी गरे । ‘
५१ सदस्यीय जिल्ला समितिबाट ३२ जना अहिले नै नयां शक्तिको पक्षमा रहेको छ । उनले भने – ‘ प्राविधिक कारणले हस्ताक्षर नगरेको हो,यसमा कुनै शंका गर्नुपर्दैन ।’ नामावलीमा कसैको पनि हस्ताक्षर भने छैन । ‘यो संख्या भन्दा अझै धेरै नेता कार्यकर्ता आउने निश्चित छ, क्षेत्रीले भने–‘एमाले,जनमुक्ति,नेपाली कांग्रेस लगायत अन्य पार्टीबाट र स्वतन्त्र रहेका व्यक्ति पनि नयां शक्तिमा आउंदैछन् ।’ उनले प्रचण्डलाइ प्रचण्ड बनाउने बाबुराम भएको पनि प्रष्ट्याए ।
प्रेस विज्ञप्तिमा क्षेत्री वाहेक ३४ जना पुर्व राज्य समिति सदस्य नयां शक्तिको पक्षमा लागेको नामावली उल्लेख छ । जसमा विनोद पहाडी,यज्ञ पोखरेल,देवेन्द्र पाण्डे सागर,कृष्ण पोखरेल,प्रदीप उदय, लिलाधर मरासिनी,निर्दोष अली,बाबुराम पोखरेल,प्रेम जीसी,यानेन्द्र जीसी,विमल गिरी लगायतको नाम छ । नेता क्षेत्रीले संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान जारी भएपछि पुरानो राजनीतिक अध्याय समाप्त भएकाले नयां अध्यायका लागि नयां शक्तिको आवश्यकता भएर नयां शक्ति जन्मिन थालेको बताए ।
उनले पार्टीभित्र २ वर्षदेखि नयां विचारका लागि वहस गर्न खोज्दा नेतृत्वबाट बेवास्ता भएकाले बाबुरामले वाध्य भएर पार्टीबाट अलग भै नयां शक्ति निर्माण अभियान शुरु गरेको बताए । उनले आफूहरुले अहिल्यै एमाओवादी नछोडेको कुरा दोहोर्याएका थिए । पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार एवं पुर्व सभासद् रामचन्द्र भट्टराई,पुर्व सभासद एवं शहीद परिवारकी शारदा घिमिरे लगायत नेताहरुको उपस्थिति थियो ।
कार्यक्रम यज्ञ पोखरेलले सञ्चालन गरेका थिए । नया शक्तिमा केहि पत्रकारको नाम पनि समेटिएको छ ।
