सोनु थापा मगर
बुटवल ,कार्तिक २५ – बौद्ध धर्मालम्बीहरुको ऐतिहासिक तथा परम्परा त्रैमासिक वर्षावास समापनको सुखद उपलक्ष्यमा डिङेकरकुवा शंकरनगरमा रहेको अन्तराष्ट्रिय बुद्ध परियति उदय विहारले विविध आध्यात्मिक कार्यक्रम सहित कथिन उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्ध धर्म अनुसार कथिन उत्सवमा बौद्ध धर्मगुरुहरुलाई श्रद्धापुर्वक निम्नतम दान गर्दा पनि पुण्यलाभ हुने मान्यता रहेकाले आफुलाई ईच्छा लागेका दानयोग्य सामग्री वा खाद्यान्न , जिन्सी , फलफुल , धुपदिप , चिवर , औषधी आदि आफ्नो दिवंगत मातापिता , नाताकुटुम्ब तथा पितृहरुको पुण्य स्मृतिमा दान गरी अनन्त पुण्य आर्जन हुने धार्मीक विश्वास छ ।
कार्यक्रममा भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्याले धर्मदेशना गराउनु भएको थियो । सोही अबसरमा विश्व शान्ति बौद्ध गुम्बा सुख्खानगर –१० बुटवलले उक्त विहारमा सिमा गृह निर्माण गर्नका लागि नगद २२ हजार ५ रुपैया दान गरेको कार्यक्रमका संयोजक याम बहादुर थापाले जानकारी दिनु भयो ।
कलबहादुर पल्लि मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अगाडी योगीकुटीबाट शान्ति र्याली निकालिएको थियो ।
