इखले बनायो गायक

Read Time:5 Minute, 52 Second

रमेशबाबु थापा-गायक तथा नायक

आजभोली त जो पनि गायक हैन त ?

त्यति सारो त होइन । कला र गला हुने मान्छे नै गायक हुने हो । तर , पछिल्लो समय प्रविधिले गर्दा पनि धेरै जना सजिलै गायक बन्न खोज्छन् । अर्को कुरा पैसो भएपछि गीत रेकर्डिङ गर्ने संस्था फालाफाल छन् । एक दुई वटा गीत रेकर्ड ग¥यो अनि गायक भयो । साँच्चैको गायक हुन भने सजिलो छैन ।

तपाईचाँही कस्तो गायक हो ?

म लोकदोहोरी गायक भन्न रुचाउँछु । मैले त्यस्तै किसिमका गीत गाएको छु ।

गायक बन्न केले प्रेरणा दियो ?

म सानैदेखी गीत गाउन रुचाउँथे । हाम्रो पारिवारिक वातावरण पनि त्यस्तै थियो । आमा साह्रै मिठो गीत गाउनुहुन्थ्यो । त्यसले प्रेरणा दियो ।

आमाले गाएकै भरमा गायक बन्छु भन्ने अठोट त कसरी आयो होलार ?

पक्का गायक बन्छु भन्ने इख लिएको चाँही एउटा रमाइलो घटना छ । हाम्रो गाउँ स्याङ्जा गुर्जा चिसापानीमा हरेक वर्ष माघेसंक्रान्तिमा मेला लाग्थ्यो । त्यो मेलामा धेरै नव कलाकारले गीत गाउँथे । म पनि गाउन रहर गर्ने । स्वर पनि ठिकै थियो । त्यहि भएर क्लबले मलाई गीत गाउने भनेर फिक्स ग¥यो । २८ दिनसम्म मैले प्रयाक्टिस गरे । माघे सक्रान्ति मेलाको ४ दिन बाँकी हुँदा तेरो स्वर राम्रो छैन भनेर अर्कैलाई गाउन दिए । मेरो मन यति धेरै दुख्यो कि त्यही इखले म गायक बन्छु भनेर कस्सिएर लागे । त्यही भएर अहिलेको स्थानमा आएँ ।

माघे सक्रान्ति मेलामा गाउन नदिनेहरुले आजभोली के भन्छन् नि ?

मेरो घर नजिकै बाँसोरा भन्ने ठाउँ छ । म गायक बन्छु भन्दा धेरैले बाँसोरा कम्पनीले एल्बम निकाल्ने होला है भन्दै गिल्ला गर्थे । देख्ने बित्तिकै उ आयो… आयो… बाँसोरा गायक भन्थे । तर, अहिले साँच्चिकै गायक बनेको देख्दा खिसी गर्नेहरुले नै बधाई दिन्छन् ।

अहिलेसम्म कति वटा एल्बम निकालियो ?

बास्तवमा आजभोली एल्बमा लगानी भनेको बालुवामा पानी हो । तैपनि गायक हुँ भन्नलाई पनि एल्बम निकाल्नै पर्ने बाध्यता छ । त्यही भएर २०६९ मा ‘यदि मलाई माया गछौं भने’ त्यसपछि सालैजो एल्बम निकाले । अस्ति भर्खर पनि एउटा ‘खरैमा काट्यो’ सालैजो गीत गरेको छु । त्यसको छायाङ्कन पनि सकियो ।

आजभोली एल्बम बिक्दैनन् । तैपनि अडियो भिडियोमा खर्च गरिरहनुभाछ कसरी जोहो गर्नुहुन्छ त्यत्रो पैसा ?

दोहोरी साँझमा पनि गाउँदै आएको छु । मेरो नियमित आम्दानी त्यताबाट हुन्छ । फिल्ममा अभिनय गरेर पनि धेरथोर पैसो आउँछ । मैले त्यतिकै अभिनय मात्रै गरेको पनि छैन । परिवारले पनि सपोर्ट गरेकै छन् । इच्छा भएपछि पैसो भन्ने कुरा जसरी पनि जुट्दोरहेछ । बेलाबेला कन्सर्टमा पनि गीत गाउन जान्छु त्यो पनि आम्दानीको स्रोत हो ।

तपाई त फिल्म पनि खेल्नुभाछ, तपाइ गायक हो कि नायक ?

२०६९ मा म्यारमीत, त्यसपछि सालिभेना, मिझारमा नायककै भूमिकामा अभिनय गरेँ । दशैं लगत्तै दुई फिल्म कालीपारे र मार्च नानीको सुटिङ्ग सुरु हुँदैछ । फिल्ममा अभिनय गरे पनि म आफूलाई गायक हुँ भन्न रुचाउँछु तर, दर्शकले गायकभन्दा बढी नायक भनेर चिन्छन् ।

गाउँदागाउँदै किन फेरी फिल्मतिर हाम फालेको ?

यि सब कुरा रुचीमा भर पर्दा रहेछन् । सानैदेखि भिडियोमा देखिने सोख पनि थियो । त्यही सोख पूरा गर्न फिल्ममा खेले । अहिले नसाजस्तो भयो । त्यही भएर पनि फिल्ममा अभिनय गरिराछु ।

नसाको रुपमा मात्रै लिएर फिल्ममा कहिलेसम्म अभिनय गर्ने ?

मगर समुदायमा धेरैजसो नायकहरु उदाउँछन् हराउँछन् । यिनिहरु यस्तै हुन् । एउटा फिल्म बनाउँछन् त्यसपछि हराउँछन् भन्ने गरिन्छ । हुन पनि हो । त्यही भएर नहराउनको लागि पनि म फिल्ममा देखिरहने गरेको हुँ । फिल्मका माध्यमबाट हाम्रो

समुदायको कला, सँस्कृति, भेषभूषामा केही न केही योगदान दिन सकिन्छ भनेर पनि यसलाई नसाको रुपमा लिएको छु ।

भविश्यको योजना के छ त ?

गायक बन्न सजिलो रैछ । तर, गायक भइरहन निकै गाह्रो छ । त्यही भएर चाहे फिल्मा खेलेर होस् वा जागिर गरेर । जसरी पनि पनि गायन क्षेत्रमा टिकिरहने योजना छ । त्यो बाहेक एक दुई वटा राम्रो फिल्म बनाउने रहर पनि छ । त्यस विषयमा छलफल भइरहेको छ ।

प्रस्तुतिः मनोज घर्तीमगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %