रूद्र श्रीस मगर
पोखरा, १४ कात्तिक – पोखरा–१२, शीतलादेवीस्थित शीतल ज्योति युवा क्लबले क्लब भवन निर्माण सहयोगार्थ आयोजना गरेको शीतल सांगीतिक उत्सव सम्पन्न भएको छ ।
सो कार्यक्रममा काठमाडौंका चर्चित ब्याण्ड तथा गायक, पोखराका स्थानीय ब्याण्डले प्रस्तुती राखेका थिए । त्यस्तै, अर्जुन खनाल, तुलसा जिसी, प्रदीप त्रिपाठी, आयुष परियार, चाहना श्रीलगायतका कलाकारहरूले लोकदोहोरी गीत प्रस्तुत गरेका थिए भने पोखरेली खड्का जी विनोद पहारीले हास्य व्यंग्य प्रहसनमार्फत दर्शकलाई मनोरञ्जन गराएका थिए । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएका थिए । सो अवसरमा वरिष्ठ नृत्य प्रशिक्षक बुद्धिप्रसाद गुरुङ ‘गौरी’लाई सम्मान समेत गरिएको थियो ।
क्लबका अध्यक्ष सुरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण गुरुङ तथा राम लामा र पुष्पा गुरुङ, उपाध्यक्ष सन्तोष गुरुङले स्वागत र कोषाध्यक्ष नरप्रसाद गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।
