रूद्र श्रीस मगर
पोखरा, १४ कात्तिक -जनचेतना विकास केन्द्र, पोखरा–१० को १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सो साधारणसभाको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जनचेतना विकास केन्द्रले निकै राम्रा र सिर्जनात्मक काम गर्न सफल भएकोमा प्रशंसा गरे । साथै, घर्तीले जनचेतना विकास केन्द्रका लागि आफू समेत सहकार्य गर्न तयार रहेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक गणेश गुरुङले पारदर्शी भएकाले जनचेतना विकास केन्द्रसँग आफूहरूले सहकार्य गरिरहेको भन्दै दस्तावेज र कागज भन्दा पनि कामलाई प्राथमिकता दिने बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, केन्द्रका सल्लाहकार अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, बुद्धचोक वातावरण सुधार समूहका अध्यक्ष सम्झना अधिकारीलगायतले बोलेका थिए।
सो अवसरमा केन्द्रकी सचिव सुमित्रा दुराले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष माया थापामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।
केन्द्रकी अध्यक्ष सरस्वती रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुमित्रा दुरा, स्वागत उपाध्यक्ष महेन्द्र आलेमगर र संस्थापक अध्यक्ष गगनसिंह थापामगरले धन्यवाद ज्ञापन दिएका थिए ।
