रूद्र श्रीसमगर
पोखरा, २६ असोज – पोखरा–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाको उद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्रमुख बद्रीनाथ अधिकारीले गरेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, संस्थाका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगर, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सरस्वती रानामगर, नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष भूपू प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर लगायतले बोलेका थिए ।
साधारणसभाले संस्थाका सचिव दुर्गाबहादुर थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भीमबहादुर मास्की रानामगरद्वारा आर्थिक प्रतिवेदन तथा लेखा संयोजक खेम पुलामीमगरद्वारा प्रस्तुत लेखा प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ । साथै, साधारणसभाले ऋण उपसमितिको संयोजकमा मीनबहादुर रानामगरलाई सर्वसम्मत चयन समेत गरेको छ ।
कार्यक्रमका अवसरमा ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सम्मानित हुने ज्येष्ठ नागरिकहरूमा संस्थाका शेयर सदस्य डिलबहादुर श्रीसमगरकी आमा ८२ वर्षीया मती श्रीसमगर, यामकुमार पुर्जामगरका आमा ८६ वर्षीया पुनिसा गर्बुजामगर, शेयर सदस्य ७७ वर्षीय क्या. कृष्णबहादुर थापामगर र शेयर सदस्य निर्मल थापामगरका ससुरा बुबा ८२ वर्षीय टेकबहादुर रानामगर रहेका छन ।
संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाबहादुर थापामगरले गरेका थिए ।
हाल एक सय आठ शेयर सदस्य रहेको संस्थाको ८७ लाख ३० हजार रुपैयाँ शेयर पुँजी रहेको छ भने ११ लाख ३७ हजार रुपैयाँ निक्षेप पुँजी र ५७ लाख ७६ हजार ४ सय ५१ रुपैयाँ ८५ पैसा कर्जा लगानी रहेको छ ।
