-जीबन छेत्री
भारतको कुनै पनि रुपमा नाकाबन्दी गर्ने नियत छ भने त्यो गलत हो | नाकाबन्दी भयो भने त्यसको विरोध हुनु स्वभाविक हो। तर त्यसले के कुरालाई नकार्दैन भने नेपालमा संविधान निर्माणताका समेट्न नसकिएका पक्षहरुलाई अझै पनि नसमेटी धर छैन। नसमेट्दैमा तत्काल राष्ट्र नै बिघटन हुने गरी आन्दोलन वा विद्रोह नउठ्ला तर दीर्घकालसम्म नेपालमा शान्ति र अमन चयन गर्ने हो अनि वैदेशिक हस्तक्षेप ननिम्त्याउने हो भने असन्तुष्ट पक्षहरुसित संवाद गरेर तिनलाई विश्वासमा लिनु अनिवार्य छ। यो सामान्य सत्यलाई राष्ट्रवादको भ्रामक नाराले छोप्ने हो र समस्याहरु सल्टाउनको सट्टा थुपार्दै जाने हो भने भविष्यको कुनै बिन्दुमा अर्को दुर्घटना निश्चित छ। त्यसो नहोस् भन्नका लागि पनि अहिलेको राष्ट्रवादलाई नाराको पर्दाभन्दा भित्र पुगेर हेर्नु जरुरी छ।
अन्तर्राष्ट्रिय सम्बन्धहरुमा एउटा चल्तीको उखान लागू हुन्छः थैलीको मुख बन्द गर, साथीलाई चोर नलगाऊ। भारतको ठूल्दाइ प्रवृत्ति धेरै हदसम्म नेपालको नेतृत्व तहद्वारा नै सिर्जित हो। त्यसमा भारतको आफ्नै स्वार्थको भुमिका पनि होला तर समीकरणको त्यो भाग अपरिवर्तनीय छ। भारतका सामू हामीले आत्मसम्मान र इज्जत कायम गर्ने हो भने हाम्रो नेतृत्व आम मानिसप्रति जवाफदेही भएर देशलाई समृद्ध र आत्मनिर्भर बनाउनुपर्छ। भारतको प्रवृत्ति बदल्नु हाम्रो वशबाहिरको कुरा हो र उसलाई गाली वा उसको निन्दा गरेर आफ्नो अहंलाई तुष्टि पार्नु वा राष्ट्रवादको उत्तेजक नारा लगाएर यहाँका कमजोरी लुकाउनु बेतुकको कुरा हो। गलत कामको आलोचना गरौं तर त्यही आलोचनाको पर्दाभित्र हाम्रो नेतृत्वले पञ्चखत माफ़ी पाउने अवस्था सिर्जना नगरौं।
जुन दिन हामी समृद्ध र आत्मनिर्भर बन्नेछौं, त्यो दिन भारतले आफैं हामीलाई सम्मान दिनेछ र हाम्रो आन्तरिक मामलामा दखल दिन छाड्नेछ। त्यो बेला ‘ब्याकअफइन्डिया’ भनेर नारा लगाइरहनु आवश्यक नै हुनेछैन।