माया घले मगर
इजरायल, असोज ५ – नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा इजरायलमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु, गायक विजय लामा, गायिका सुनिता दुलाल र नायिका सुष्मा अधिकारीहरुले इजरायलबासी नेपालीहरुलाई छमछमि नचाए ।
पर्वत सेवा समाज इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल र याद वेयाद मेन पावर एजेन्सीको संयुक्त आयोजनामा १८ सेप्टेम्वर शुक्रवार हाहगना १३५ वेतवारवर हलमा आयोजना गरिएको थियो । कार्यक्रम अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलकी अध्यक्ष लक्ष्मी भट्टराई अनुरागीको सभापतित्व इजरायलकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता भएको हो । उक्त कार्यक्रममा राजदूत पत्नी सिता प्रसाई, नेपाली राजदूतावास तेलअभिवका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल साथमा उहाँकी धर्मपत्नी सिता दाहाल, द्वितिय सचिव रोशन खनाल अतिथि थिए ।
कार्यक्रम आयोजकको रुपमा रहेको याद वेयादकी प्रतिनिधि लेभाना, कार्यक्रम प्रायोजक फ्लाइ इष्ट ट्राभल एजेन्सीका प्रतिनिधि Adam Schmoin, लगायत विभिन्न इजरायली संघ संस्थाहरुमा आवद्द इजरायली समाजसेवीहरुको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिहरूमा इजरायलमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको उक्त कार्यक्रम दर्शकहरुको अत्याधिक चापका कारण कतिपय दर्शकहरु टिकट विना नै कार्यक्रम हलमा प्रवेश गर्दा व्यवस्थापनमा कठिनाई उत्पन्न हुँदा केही समय कार्यक्रम संचालमा अवरोध सिर्जना भएको थियो । कतिपय टिकट भएकाहरु समेत कार्यक्रममा उपस्थित हुन नसकी फर्किन वाध्य भए भने यसकै कारण कार्यक्रम निर्धारित समयमा शुरुवात हुन नसक्दा औपचारिक कार्यक्रमलाई उद्घाटन लगत्तै विट मार्दै कार्यक्रम सिधै अनौपचारिक रुपमा अगाडि वढाइएको थियो ।
कार्यक्रममा संयोजक पर्वत सेवा समाज इजरायलका अध्यक्ष भोजराज क्षेत्रीले स्वागत मन्तव्यको क्रममा हरितालिका तीजको शुभकामना व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
कार्यक्रम शुरु हुनुपूर्व कार्यक्रम हल अगाडि पर्वत सेवा समाजको आयोजनामा दिदिवहिनीहरुलाई निशुल्क दरको समेत व्यवस्था गरिएको थियो । दर खाने कार्यक्रमको पर्वत सेवा समाज इजरायलका सक्रिय सदस्य नरेन्द्र क्षेत्री र समाजसेवी निरज सुवेदीले प्रयोजन गरेका थिए भने समाजसेवी सुवास खरेल ‘सुवु’ले कार्यक्रमका दौरान दिदीवहिनीहरुलाई पानीको व्यवस्था गरेका थिए ।
वैशाख १२ र २९ गतेको आम विनाशकारी भूकम्पबाट भग्नावशेषमा परिणत भएको पर्वतको श्री पशुपती उच्चमाध्यामिक विद्यालयको भवन निर्माणार्थ आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थितहरुलाई फ्लाई इष्ट ट्राभल एजेन्सीले निशुल्क टिसर्ट प्रदान गरेको थियो भने फ्लाई इष्टले उपस्थित १ जनालाई नेपाल जान आउनकोलागि वम्पर उपहार स्वरुप हवाई टिकट दिने भनेकोमा विभिन्न कठिनाई र समय अभावका कारण उक्त दिन चिठ्टा खोल्न नसक्दा हाल त्यो अनिश्चित वनेको छ । यस बारे आयोजकले छिट्टै सुचना जारी गर्ने वताएका छन् ।
त्यस्तै आयोजकले भूकम्पको प्रकोपबाट विक्षिप्त एउटा विद्यामन्दिरको पुननिर्माण जस्तो पवित्र कार्यकालागि आयोजना गरिएको यस किसिमको कार्यक्रममा विना टिकट सेक्युरिटीलाई समेत अटेर गरी जबर्जस्ती प्रवेश गर्नेहरुको प्रवृत्तिप्रति आलोचना गरेका छन् । त्यस्तै आयोजकले टिकट हातमा भएर पनि कार्यक्रममा प्रवेश नपाउनुभएका तमाम दिदीवहबहिनी तथा दाजुभाईहरुमा पर्न गएको असुविधाप्रति गम्भिर खेद प्रकट गर्दै क्षमा याचना गरेका छन् । आयोजकले दर्शकहरुले लिएको टिकट कार्यक्रम प्रवेश मात्र नभएर भूकम्प पिडितकोलागि सहयोग हुने भएतापनि यदि कोही कसैले कार्यक्रम प्रवेश नपाउदा पैसा फिर्ता लिन चाहे आयोजकलाई सम्पर्क गर्न सकिने बताइएको छ ।
त्यस्तै कार्यक्रमका दौरान कतिपयले विद्यालय पुननिर्माणकालागि प्रवेश टिकटका अलावा आर्थिक सहयोग समेत गरेका छन् । आर्थिक सहयोग गर्नेहरुमा पर्बत माला केसी,अर्जुन पौडेल गाउँले, भोजराज क्षेत्री, हिमाली गुरुङ, जीतु गुरुङ, इन्द्रा गुरुङ र इश्वरी केसी रहेका छन् । उनीहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै आयोजकले कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने समाजसेवी, व्यवसायी, विभिन्न सामाजिक संघ संस्था, स्वयंसेवक लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ ।
कार्यक्रममा गायिका सुनिता दुलालले उपस्थितहरुलाई भरपुर मनोरञ्जन दिलाएकी थिइन भने गायक विजय लामाले दर्शकहरुलाई खुवै झुमाएका थिए । त्यस्तै नायिका सुष्मा अधिकारीको दमदार नृत्यले उपस्थित दर्शकहरुलाई थप उत्साह थपेको थियो ।
त्यस्तै कार्यक्रममा स्थानिय गायकहरु प्रविण दाहाल र नविन खरेलको सांगितिक प्रस्तूतीले कार्यक्रमलाई थप मनोरञ्नात्मक वनाउन सहयोग गरेको थियो ।
संक्षिप्त रुपमा चलाइएको औपचारिक कार्यक्रमको नयन सापकोटाले संचालन गरेका थिए भने अनौपचारिक कार्यक्रमको युवा पत्रकार तथा सीटिजन एफएम का कुसल संचालक नवराज कुवर र विन्दिया महर्जनले संचालन गरेका थिए ।