देब पचभैया
पाल्पा, भाद्र ३१ – दोश्रो परिवार नियोजन दिवसका अवसरमा पाल्पाका दुई स्वयंसेविकालाई सम्मान गरिएको छ ।
मस्याम र दर्लमडाडामा बसेर काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । मस्याम गाविसकी तारा घिमिरे र दर्लमडाडा गाविसकी कुन्तिमाया दर्लामीलाई दोसल्ला, सम्मानपत्रले सम्मानित गरिएको हो ।
उनिहरुलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल परिवार नियोजन संघ पाल्पाका उपाध्यक्ष चिरञ्जीवी ढुंगानाले सम्मान गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघले संयुक्त मनाएको यस कार्यक्रममा संघले लैङ्गिक हिंसामा परेका १० जनालाई जनही एकहजारका दरले नगद सहयोगसमेत गरेको छ ।
यसरी सहयोग पाउनेहरु बन्दीपोखरा, ६ की जुना बोहोरा, कुसुमखोला, ३ की मीना गाहा, तानसेन, १३ की सानुमाया खड्का, तानसेन, ११ की इश्वरी सर्केनी, नायरनमतलेसकी चित्रकुमारी घर्ति, तेल्घा, ५ की मीना कार्की रहेका छन् । यस्तै, रुप्से, ४ की मुना राना, तानसेन, ४ की सञ्जु कार्की, बन्दीपोखरा, ३ की निमकला ठडराई, मुझुङ्ग, ७ की शान्ति राना रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जनसंख्या नियन्त्रण हुन नसक्दा अनेकन अप्ठ्यारा, बाधाहरु आइपर्नुका साथै परिवारबिचको बेमेल, झैझगडा हुने जस्ता घटना घटेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्रप्रसाद घिमिरेले कम उमेरमै विवाह गर्ने, गर्भवती हुने समस्या यस जिल्लामा पनि भएकाले यस तर्फ जनचेतना अभिवृद्धिको खाचो रहको बताए । उनले पाल्पामा मात्रै २७ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवति भएको तथ्यांक अघिल्लो आर्थिक वर्षमा भेटिएको बताए ।
प्रहरी, स्वास्थ्य, गाविस, जिविस, सञ्चार सबै क्षेत्रको सहयोग भयो भने मात्र यसलाई कमी गर्दै लग्न सकिने उनले बताए । नेपाल परिवार नियोजन संघका जिल्ला उपाध्यक्ष चिरञ्जीवी शर्मा ढुंगानाले अस्थायी साधनको बितरण भन्दा यसको प्रभावकाररितालाई ध्यान दिन आग्रह गरे ।
युथ एक्सनका कार्यक्रम संयोजक कृष्ण कार्कीले परिवार नियोजनका विषयमा कम जानकारी भएकाले पनि अझै पनि विभिन्न खालका समस्या देखिने गरेको बताए ।
कार्यक्रममा युनाइटेड मिसन अस्पतालका व्यवस्थापक भुवनेश्वर देवकोटा, महिला विकास निरीक्षक सुष्मा रेग्मीले परिवार नियोजन र आमाबच्चाको सुरक्षाकालागि सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताए । कार्यक्रम नेपाल परिवार नियोजन संघका सचिव राजेश्वर उदयको सञ्चालन, कोषाध्यक्ष चित्रवली राम सुवाको स्वागत र संघका उपाध्यक्ष चिरन्जीवी शर्मा ढुंगानाको अध्यक्षतामा चलेको हो ।
