हुम तमु
पोखरा, २७ भदौ – पहिचानसहितको संघीयता र तमुवान स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनरत तमुवान संयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

संघर्ष समितिले आइतबार तमु धिं नेपालमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनबारे जानकारी गरायो । दोस्रो चरणको आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउनेदेखि बन्दसम्मका कार्यक्रम रहेका छन् ।
दोस्रो चरणको आन्दोलनबारे जानकारी दिँदै संघर्ष समिति संयोजक हुमबहादुर गुरुङले पहिचानसहितको संघीयता, तमुवान स्वायत्त प्रदेश र धर्मनिरपेक्षताका लागि आफूहरूले आन्दोलन गरिरहेको बताउनुभयो । आन्दोलन शान्तिपूर्ण र संयमित हुने जानकारी दिँदै संयोजक गुरुङले राज्यको व्यवहार अनुसार आन्दोलनको स्वरुप अघि बढ्ने उल्लेख गरे । सिमाड्ढनका क्रममा तमुवान आदिभूमिलाई प्रदेश नं. ४ मा राखेर तमु जातिलाई अल्पमतमा पार्ने षड्यन्त्र गरिएको भन्दै संयोजक गुरुङले तमुवान स्वायत्त प्रदेशसहित राज्यका हरेक निकायमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी हुनुपर्ने बताए ।
(प्रगतिशील लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले पत्रकार हुमबहादुर तमु संग तमुअभियान्ताहरू खोज्दै – खोइ कता छौ तिमेरू?)

संघर्ष समितिले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत यही भदौ २८ गते सोमबार प्रधानमन्त्री र संविधानसभा अध्यक्षलाई ज्ञापनपत्र पठाउने र तमुवान प्रदेशका सबै ठाउँमा भित्ते लेखन गर्ने, २९ गते मंगलबार चोक चोक र वडा वडामा तमुवान झण्डा गाड्ने, ३० गते बुधबार घर घरमा तमुवान झण्डा फहराउने, ३१ बिहीबार तमुवानको राजधानी पोखरास्थित जिल्ला प्रशासन कार्यालय कास्कीमा दुई घण्टा धर्ना दिने, आगामी असोज १ गते शुक्रबार पहिचानको अधिकार र तमुवानविहीनको संविधान ल्याउन खोज्नेहरूविरुद्ध सिस्नुपानी जुलुस गर्ने, असोज २ गते शनिबार तमुवानविहीन, पहिचानविहीन संविधान ल्याउन खोज्नेहरू र संविधानको अन्त्येष्टि गर्ने, ३ गते आइतबार तमुवानको प्रमुख चोक भीमसेनचोकमा अर्धनग्न बाटोमा सुत्दै १ घण्टा चक्का जाम गर्ने, सोही दिन बेलुकी मसाल जुलुस गर्ने र ४ गते सोमबार तमुवान प्रदेश बन्द गर्ने रहेका छन् ।
संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले आफ्ना शान्तिपूर्ण आन्दोलनमार्फत् उठाइएका माग पूरा नभए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिँदै शान्तिपूर्ण आन्दोलनमा दमन गरे प्रतिरोध गर्ने चेतावनी समेत दिए ।
