देब पचभैया
पाल्पा, भदौँ २८ – अखण्ड मगरात प्रदेशको माग गर्दै संयुक्त मगरात संघर्ष समितिले बिरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

सोमबार पनि लुम्बिनी अंचलको पाल्पा, धवलागिरीको बाग्लुङ्, राप्तीको रोल्पा लिबाङ् र गण्डकीको तनहुँमा बृहत बिरोध प्रदर्शन सहित शक्ति प्रदर्शन गर्ने जनाएका छन् । पाल्पा, तनहुँ, रोल्पा र बाग्लुङ् जिल्लाको सदरमुकाममा बिरोध प्रदर्शन गरेर अखण्ड मगरात प्रदेशको मागको पक्षमा जनता उतार्ने कार्यक्रम रहेको संघर्ष समितिका केन्द्रीय प्रतिनिधि गमबहादुर थापाले जानकारी दिए । प्रमूख दलहरुले सात प्रदेश बनाउँदा मगरात क्लष्टरलाई क्षतविक्षत पारेको भन्दै संघर्ष समितिले अखण्ड मगरात कायम हुनुपर्ने माग गर्दै आएको छ । दलहरुले मगरात क्षेत्रलाई प्रदेश नं. ४, ५ र ६ मा विभाजन गरेको भन्दै संघर्ष समितिले अखण्ड मगरातको प्राप्तिको आन्दोलनलाई चर्काउँदै आएका छन् ।
मगर अगुवाहरू बैठकमा ब्यस्त

मगरात क्षेत्रमा पर्ने पाल्पा, तनहुँ, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, सल्यान, म्याग्दी, बाग्लुङ्लगायतका जिल्लालाई विभाजन गरिएकोमा बिरोध गरिएको संघर्ष समितिका संयोजक बलबहादुर गाहाले बताए । मगर समुदायको बाहुल्य रहेको जिल्ला र ऐतिहासिक पहिचानलाई टुक्राटुक्रा गर्न पाइदैन संयोजक गाहाले भने मगरातलाई अखण्ड राखियोस् ।
२०६८ सालको जनसंख्याको तथ्यांक अनुसार मगर समुदायको पाल्पा, रोल्पा, म्याग्दी, सल्यान, रुकुमलगायतका ६ जिल्ला बाहुल्य छ भने अन्य १२ जिल्लामा दोस्रो संख्यामा छ । २०६८ सालको तथ्यांकमा १८ लाखभन्दा बढी जनसंख्या मगर समुदायको रहेको छ । मगरात जातीय राज्य नभई पहिँचान भएको बताउँदै मगरात संघर्ष समितिका पदाधिकारीहरुले पहिँचानले उत्पीडित जातिलाई राज्यप्रति अपनत्व भावना जगाउने बताएका छन् ।
मगर अगुवाहरू भोलीको लागी छलफलमा ब्यस्त

मगरातलाई जातीय राज्य भन्नेहरुले अहिलेको राज्यको हरेक निकायमा एक जातिबाट मात्र प्रतिनिधित्व हुनु जातीय राज्य भएको टिप्पणी गरेका छन् । मगर संघका अगुवा केहरसिं रानाले राज्यको प्रशासन, न्यायलगायत अन्य सबै क्षेत्रमा एक जातिको मात्र मानिस हुनु जातीय राज्य भएको बताए । बरु आफूहरुले नेपालको सामाजिक चरित्र अनुसार बहुजातीय र समावेशी राज्य व्यवस्थाको माग गरेको उनको भनाई छ ।
संघर्ष समितिमा नेपाली कांग्रेस निकट राष्ट्रिय मगर संघ, एमाले निकट लोकतान्त्रिक मगर संघ, एमाओवादी निटक मगर राष्ट्रिय मुक्ति मोर्चा, नेकपा–माओवादी निकट मगर मुक्ति मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी निटक मगरहाङपरिषद् आबद्ध छन् । यस्तै संघीय समाजवादी फोरम, विप्लव माओवादी, नेकपा एकीकृत पनि संघर्ष समितिमा आबद्ध रहेका छन् ।
