नीरज पिठाकोटे
वीरगन्ज, भदौ २४ – थरुहट थारुवान आन्दोलन केन्द्रीय परिचालन समितिका नेता रजाकुमार लेखीले तीन दलले चाहेर वा नचाहेर अहिले देशमा सैनिक शासन लगाउन खोजेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले आज नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले ७० प्रतिशत जनताको संविधान नबने देशमा हतियार उठ्न सक्ने बताए । उनले नेपाली कांग्रेसका सुशील कोईराला, नेकपा एमालेका केपी ओली र एनेकपा माओवादीका प्रचण्डको खस ब्राम्हण एकता परिषदले देशमा मुठभेड चाहेको र उनीहरुले देशमा अस्थिरता निम्त्याएर संविधान नबनाउन खोजेको आरोप लगाए।
नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत रहेका नेता लेखीले आदिवासी जनजाति, थारु, मधेसी लगायतका समुदायले गरेको आन्दोलनको वेवास्ता गरेको भन्दै अहिले तराई मधेस मात्र जलिरहेको छ । अब देशभर आगो बल्ने बताए । उनले भने, ‘दुई तिहाईको दम्भ देखाएर संविधान जारी गरेर देखाओस त्यसको एक घण्टामा संविधान जलाउछौं ।’
तराई मधेसमा भईरहेको आन्दोलन अधिकार प्राप्त नभएसम्म नरोकिने पनि उनले बताए । नेता लेखीले टिकापुरको कैलालीमा अखण्ड सुदुरपश्मिका भिजिलान्ते लगाएर शेरबहादुर देउवा र भीम रावलले थारु आन्दोलन दबाउन खोज्दा प्रहरी अधिकृत सहित अन्यको ज्यान गएको बताउँदै सुशील कोईराला सरकारलाई कारवाही गर्नुपर्ने धारणा राखे । उनले भने टिकापुर घटनाका दोषी सरकार हो, सुशील कोईराला र बामदेव गौतमलाई कारवाही गर्नुपर्छ, होईन भने उनीहरुलाई जनताले कारवाही गर्नेछ ।
’ वार्ताको लागि सरकारले आह्वान गरेको सन्दर्भमा उनले ब्राम्हण एकता परिषदका नेताहरुको मुख हेर्न र सिंहदरबारको चिया बिस्कुट खानको लागि नजाने बताउदै अब वार्ता तराइका जनतासँग गर्नुपर्ने बताए । आफ्ना माग राखेर आन्दोलन गरिरहेका मधेसी र थारुहरु अब एउटै आन्दोलन गर्ने तयारीमा रहेको जानकारी दिँदै अब तराई मधेसको घर घरका जनता आन्दोलनमा होमिने र मधेसको गाउँ गाउँ जल्ने चेतावनी दिए ।
मधेसी, थारु, आदिवासी जनजातिहरुको आन्दोलन सफल नहुनुको मुख्य दोषी सञ्चार माध्यम रहेको बताउँदै सञ्चार माध्यम पनि सत्ताको भजनकृतन गाउने काम मात्र भएको बताए । नेता लेखीले मानवअधिकारवादी र सञ्चार माध्यम पनि एकल जातीय भएको आरोप लगाए ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका उपाध्यक्ष जगत राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा थारु कल्याणकारीणि सभाका केन्द्रीय सल्लाहाकार गिरीधारी प्रसाद चौधरी, केन्द्रीय पार्षद सुभांश प्रसाद चौधरी र थारु यूवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका सचिव निरज पिठाकोटेले गरेका थिए।
