रेखिराम राना मगर
पाल्पा, भदौ २५ – मगरात प्रदेशको माग गर्दै विभिन्न दलका जातीय मोर्चाले आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

नेपाल मगर संघ र संयुक्त मगर मञ्चले मगरात प्रदेशको सुनिश्चितका लागि आन्दोलन चर्काउने घोषणा गरेको हो ।
दलहरूले ल्याएको प्रदेशमा मगरात भूमीलाई प्रदेश–४, प्रदेश–५ र प्रदेश–६ मा विभाजन गरिएको भन्दै आन्दोलनकारीले असन्तुष्टि जनाएका छन् । ऐतिहासिक रूपमा रहेको मगरात भूमीलाई विभाजन गरेर क्षतविक्षत पारेकोमा हाम्रो आपत्ति छ मगरात राज्य परिषद्का अध्यक्ष धनकेशर सूर्यवंशीले भने ।
हाम्रो जायज माग सुनुवाईका लागि शान्तिपूर्ण रूपमा संघर्ष गर्ने बताए । उनले आफूहरु हिंसाको पक्षमा नभएको बताउँदै मगरात प्राप्तिको आन्दोलनलाई शसक्त बनाउने जानकारी दिए ।

संघर्ष समितिले पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम प्युठान, म्याग्दी, बाग्लुङ्, तनहुँलगायतका जिल्ला मगरात प्रदेशमा राख्न माग गर्दै आएको छ । मगर समुदाय बाहुल्य रहेको जिल्लालाई प्रदेशमा राख्न र केही गाउँ र क्षेत्र बाहुल्य रहेको क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाउन संघर्ष समितिले माग गर्दै आएको छ ।
मगर संघका केन्द्रीय सदस्य गमबहादुर थापा मगरले मगरात कुनै जात विशेषको राज्य भन्दा पनि पहिँचान भएको बताउँदै यसले भाषा, संस्कृति र राज्यप्रति पछि परेका समुदायको अपनत्व कायम हुने दावी गरे ।
शान्तिपूर्ण रूपमा आफूहरूका माग सम्बोधन नगरी उल्टो राज्यले दमन गरे प्रतिकारमा उत्रने चेतावनी दिए ।
मगरात संघर्ष समिति पाल्पाका संयोजक बलबहादुर गाहा मगरले मगरात स्वायत्त क्षेत्र र उपस्वायत्त क्षेत्र कसरी विभाजन गर्ने भन्ने विषयमा आफूहरूले शीर्ष नेताहरूलाई जानकारी दिएको बताए ।
समितिले भदौँ २८ गतेसम्म भित्तेल्खन, पत्रकार सम्मेलन, मगरात प्रदेशको सीमामा बोर्ड राख्ने जनाएको छ भने भदौँ २९ गते पाल्पा, तनहुँ, बाग्लुङ र रोल्पाको जिल्ला सदरमुकाममा बृहत बिरोध सभा गर्ने त्यसपछि माग सुनुवाई नभए अनिश्चितकालिन आम हडताल गर्ने जनाएको छ ।
यस्तै मगर संघमा दुई दशकदेखि नेतृत्व गर्दै आएका नेपाली कांग्रेस र एमाले निटक नेताहरु पार्टीले कारबाही गर्ने निर्देशन दिएपछि आन्दोलनमा देखिएका छैनन् ।
मगरात संघर्षप्रति आफूहरुको एक्येबद्धता रहेको बताए पनि उनीहरु आन्दोलनमा भने निस्किएका छैनन् । आन्दोलनमा हाम्रो नैतिक र आर्थिक सहयोग छ एक कांग्रेस निकट मगर संघका नेताले भने भौतिक रुपमा बाहिर देखिन मिल्ने अवस्था छैन ।
संघर्ष समितिका नेता केहरसिं राना मगरले पनि कांग्रेस र एमाले नजिकमा आस्था राख्ने नेताहरु मगरात प्राप्तिको संघर्षमा नदेखिएको बताए । संघर्ष समितिले राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, धर्मनिरपेक्षता कायम हुनुपर्ने लगायतका माग समेत गरेको छ ।
