सनु थापा मगर
फोटो:ज्ञानबहादुर थापाको फेशबुक बाट
बुटवल, भदौ २२ – राष्ट्रिय जनमुक्ति पार्टी गत बैशाख १२ गतेको भूकम्पले देशको विभिन्न ठाउँमा पुर्याएको भौतिक क्षतीको पुर्ननिर्माण र पीडितहरुलाई सहयोग संगसगै अब आफ्नै जिल्ला भवनको निर्माण कार्यमा पनि लागेको छ ।

गत बैशाख देखी निर्माणकार्य सुरु गरिएको राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको निर्माणाधिन दुई तले भवनको दोश्रो तलाको ढलान कार्य सम्पन्न भएको छ । पार्टी अध्यक्ष यम.यस. थापाले उक्त भवनको शिलन्यास गरेका थिए । करीब एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको निर्माणाधिन भवन भूकम्प प्रतिरोधका साथै अपाङ्गमैत्री समेत छ । भवन निमांणमा अहिले सम्म करीब २७ लाख खर्च भैसकेको भवन निर्माण आर्थिक उप–समिति संयोजक तथा राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले बताए ।
(जग्गा दाता खेम पून मगर खैरो कपालमा साथमा पार्टीका भूपू अध्यक्ष याम पून मगर हरियो टिसर्टमा)

सिद्धार्थ राजमार्ग बुटवल – भैरहवा सडक खण्डको बीचभागमा पर्ने तिलोत्तमा नगरपालिका मंगलापूर, शंकरपूरमा बन्दै गरेको भवनमा करीब ४ सय जना मानिस अटाउने बैठक तथा सेमिनार हल , अतिथी कक्ष , प्रशासनिक प्रयोजनका लागि छुट्टै कोठाहरु रहने गरी भवनको डिजाईन गरिएको छ ।
पार्टीका सदस्य तथा शुभेच्छुकहरुको स्वईच्छुक सानो–सानो आर्थिक सहयोगबाट भवन निर्माण कार्य अघिबढिरहेको भवन निर्माण समिति संयोजक बाबुलाल थापाले बताए । अहिले सम्म २५ लाख रुपैयाँ बराबरको सहयोग जुटेको उनको भनाइ छ । सहयोग आउनेक्रम जारी रहेको र सहयोग आउने कुरामा आसावादी रहेको पनि उनले ब्यक्त गरे ।

१० धुर जग्गा क्षेत्रफलमा निर्माण भैरहेको उक्त भवन निर्माणका लागि रुपन्देही मंगलापूर निवासी बरिष्ठ समाजसेवी तथा राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहिका सस्थापक जिल्लाका अध्यक्ष समेत रहेका स्व. कविराज पूनका नाममा छोरा खेम पून मगरले ७ धुर जग्गा दान दिएका हुन । यसैमा ३ धुर अरु जग्गा थप गरी भवन निर्माण कार्य सुरु भएको हो ।
भवन आउने मंसिर सम्ममा सम्पन्न गरिसक्ने लक्ष्यका साथ निर्माण कार्य तिब्र गतिमा अगाडी बढीरहेको पार्टीका जिल्लासह–सचिव ज्ञान बहादुर थापाले बताए ।
