पोखरा, १८ भदौ – नेकपा–माओवादीका सचिव देव गुरुङले अहिलेका मुख्य तीन दल विद्यमान समस्याको केन्द्रविन्दु भएको भन्दै जबर्जस्ती गरे मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन ।
शुक्रबार पोखरामा कास्कीका अगुवा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै सचिव गुरुङले भने, ‘जबर्जस्ती गरे मुलुक द्वन्द्वमा जाने निश्चित छ ।’ द्वन्द्वले मुलुकको अस्मिता संकटमा पर्ने खतरा रहेको भन्दै सचिव गुरुङले विद्यमान संकटको समाधानका लागि सबै आन्दोलनकारी शक्ति र राजनीतिक दलका बीच सर्वपक्षीय भेला आयोजना गरेर सहमति खोज्नुपर्ने बताए ।
‘अहिले संविधान निर्माण गर्ने मार्गचित्र खुलेको छैन’, गुरुङले भने, ‘सहमति नभएसम्म संविधान निर्माणको मार्गचित्र खुल्न सक्दैन ।’ अहिलेको प्रक्रिया स्थगित गरेर सर्वपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन गर्नु अहिलेको संकट समाधानको एक मात्र विकल्प भएको भन्दै उनले देशमा जारी आन्दोलनप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको पनि बताए ।
पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’ले देशमा विद्यमान संकटले क्रान्तिको वातावरण बन्दै गएको भन्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा कास्की जिल्ला सेक्रेटरी अर्जुन छन्त्यालले पनि बोलेका थिए ।
