माया घले मगर
इजरायल , भाद्र १५ – बैदेशिक रोजगारको क्रममा इजरायली भूमिमा रहेका नेपालीहरुले काभ्रेको २२ वटा भूकम्प बाट ध्वस्त भएका पीडित स्कुललाई ११ लाख रुपैयाँ सहयोग गरेका छन ।
गत बैशाख १२ गते र २९ गते गएको शक्तिशाली विनाशकारी भूकम्पबाट पिडित भएका स्कुलहरुको लागि सहयोग पुर्याउने मुख्य उद्धेश्यका साथ सामुहिक रुपमा “भूकम्प पिडित राहत संकलन अभियान,इजरायल” गठन भएको थियो । सोही मार्फत संकलन भएको राहत मध्ये काभ्रे जिल्लाका दुर्गम क्षेत्रमा पर्ने २२ वटा विद्यालयलाई रु. ५० हजारका दरले भदौ १३ गते (आइतवार) कुल एघार लाख रुपियाँ सहयोग रकम / चेक हस्तान्तरण गरिएको राहत वितरण कार्यक्रमका सहजकर्ता माझिफेदा क्लव,काभ्रेका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ, निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसएसपी पुजा सिंह मार्फत शैक्षिक तालिम केन्द्र ,धुलिखेल,काभ्रेको हलमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजन गरी रकम हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम प्रदान गरिएका २२ वटा विद्यालयहरु क्रमश: जनकल्याण उमावि, घर्तीछाप, भैरव मावि गोकुले, कालीदेवी मावि पात्लेख, कुशेब्वर उमावि मेच्छे , मथुरापाटी मावि फूलबारी, जोगेश्वर मावि महादेवटार , शुभ चामुण्डा मावि नाला, देवीस्थान मावि देविटार, सपनेश्वर उमावि, टुकुचा नाला, जनकल्याण मावि बुच्चकोट, देउराली मावि विर्तादेउराली, चण्डेश्वरी उमावि नाला, बुद्ध हिमालयन उमावि माझिफेदा, खाँडादेवी उमावि किल्पु, सूर्योदय मावि सानोवाङथली, स्वाथानी मावि मादनकँडारी, लक्ष्मी नारायण उमावि श्यामपाटी, सरस्वती मावि काभ्रे, बडालगाउँ, उमा सहशिक्षालय उमावि चण्डेनी मण्डन, कालिका उमावि अनैकोट, बाल उज्जवल मावि दाप्चा र देवी मावि शिखर आम्बोटे रहेका छन् ।
प्रति विद्यालयलाई ५० हजारका दरले विद्यालयका प्राध्यापक एवम् सम्बन्धित विद्यालयका प्रतिनिधिहरुलाई सहयोग रकम हस्तान्तरण गरिएका थियो ।
सहयोग रकम सहि कार्यमा सदुपयोग होस् भन्ने कामना सहित सहयोग रकम वितरण कार्यमा सहजकर्ताको भूमिका निभाउनु हुने प्रेमबहादुर लामा , समाजसेवी राजु कपाली र समन्वय कार्यमा सहयोग पुर्याउनु हुने जिल्ला शिक्षा काभ्रेका नायक सुब्बा बालकृष्ण सिंखडालाई “भूकम्प पिडित राहत संकलन अभियान,इजरायल” द्वारा धन्यवाद व्यक्त गरेको पत्र कार्यक्रम संचालक प्रेम बहादुर लामाले वाचन गरी सुनाएका थिए ।