देब पचभैया
पाल्पा, भाद्र १३
पाल्पाको तानसेनबाट काठमाडौ जाने यात्रुकालागि टोयटा जम्बो हायसको स्तरिय सेवा सञ्चालन हुने भएको छ । यसै सातादेखि उक्त सेवा सञ्चालन गर्ने तयारी श्रीनगर यातायात व्यवसायी समितिले गरेको हो । समितिका अध्यक्ष डिल बहादुर ढुंगानाले समयको माग, यात्रुवर्ग र पाल्पालीहरूको चाहना सँंगै यो सेवा सञ्चालन गर्न लागेको बताए ।
तानसेनमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले भने, ‘हामीले बिगतको समयमा स्तरिय करूवा डिलक्स बस सेवा सञ्चालन गरेका थियौं । संचालनकै क्रममा गत वैशाख १२ गते हामीले अनुभव नगरेको सबैभन्दा ठुलो प्राकृतिक प्रकोप महाभुकम्पका कारण सेवालाई निरन्तरता दिन सकेनौ ।’
अहिले तानसेनबाट हालसम्म सञ्चालन नभएको टोयोटा जम्बो हायस गाडी ल्याई समस्त पाल्पालीहरूको सेवाका निम्ति करूवा नामको स्तरिय गाडी संचालनको सरूवात गर्ने ढुंगानाकाे भनाई छ । स्तरीय सेवामा फ्रि वाईफाई, एसी डिलक्स, एलईडि भिडियो लगायतका अतिरिक्त सुबिधाहरू रहेको समितिका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
तानसेन हुलाकबाट बिहान ७ बजे र बसपार्कबाट सवा ७ बजे पहिलो गाडी छुट्नेछ । अर्को पुनः बिहान पौने ११ बजे दोस्रो गाडी काठमाण्डौका लागी छुट्ने श्रीनगर यातायात व्यवसायी समितिका कार्यालय प्रमुख भविन्द्र गौतमले जानकारी दिए । यसैगरी काठमाडौं सुन्धाराबाट बिहान सवा ७ बजे पहिलो गाडी तानसेनका लागी छुट्नेछ । यस्तै, दोस्रो गाडी अनुकुल समय मिलाई यात्रुहरूलाई सेवा प्रदान गरिने छ । यसमा यात्रा गर्ने यात्रुले प्रतियात्रु रू.८७५।– अक्षेरूपी आठ सय पचहत्तर रूपैयाँमात्र गाडी भाडा तिर्नुपर्ने छ । उक्त सेवा सहितका गाडीको टिकट बुकिङ्गका लागी तानसेनको बसपार्क, मिशन अस्पताल, प्रभास, आर्य भञ्ज्याङ्ग तथा बुटवल ट्राफिकचोक एवं काठमाडौंको सुन्धारामा रहेका यस समितिको शाखा कार्यालयहरूमा पनि बुकिङ् गर्न सकिने समितिले जनाएको छ ।
श्रीनगर यातायात व्यवसायी समिति विगतदेखि पाल्पा सदरमुकाम तानसेनलाई केन्द्र विन्दु मानी पाल्पा तथा छिमेकी जिल्लाका साथै राजधानी काठमाडौं सम्म सार्वजनिक यातायात सेवा सञ्चालन गरिरहेको छ । समितिसँग ५ सय साना ठुला सवारी साधन सार्वजनिक सेवाकालागि रहेका छन् । सार्वजनिक यातायात सेवाका साथसाथै पाल्पामा भएका सामाजिक तथा संस्कृतिक क्रियाकलापमा समितिले हातेमालो गरिरहेको र दिनहुँ बढ्दै गरेको दुर्घटना न्यूनिकरणका लागि समिति संँग आवद्ध सवारी चालक तथा परिचालकहरूलाई विभिन्न सचेतना मूलक प्रशिक्षण दिई केही हदसम्म न्यूनिकरणको प्रयास गरेको वरिष्ठ उपाध्यक्ष राजेश कुमार शाक्यले बताए ।
