मनोज घर्ती मगर
पोखरा, ८ भाद्र – राज्यको पुनसंरचना गर्दा सहमति भईसकेको पहिचान र सामथ्र्यको आधारमा मगराँत प्रदेश घोषणा गराउन संयुक्त मगर मञ्चले भाद्र १४ गते मगराँत बन्द गर्ने भएको छ ।
मगराँत प्रदेश घोषणा गराउन मगराँत संघर्ष समितिको तर्फबाट ज्ञापन पत्र बुझाउनुका साथै दवावका विविध कार्यक्रम गर्दा पनि पहिचान विनाको ६ र ७ प्रदेश घोषणा गरी मगराँतलाई टुक्रा टुक्रा पारिएकाले आदिवासी जनजाति मगरहरुको सामाजिक र राजनितिक संघ संगठनहरुले बाध्य भई मगराँत बन्द गर्ने घोषणा गरेको संयुक्त मगर मञ्चका संयोजक लोकबहादुर थापामगरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त मगर मञ्चमा मगर जातिको साझा सामाजिक संस्था नेपाल मगर संघ, नेपाली काँग्रेस निकट राष्ट्रिय मगर संघ, एमाले निकट लोकतान्तिक मगर संघ, एनेकपा माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा, नेकपा—माओवादी सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चा, संघीय समाजवादी फोरम निकट संघीय समाजवादी मगर फोरम, जनमुक्ति पार्टीको मगर संगठन मगर हाङ परिषद, नेकपा एकिकृत निकट मगर स्वशासित संघ र सामाजिक लोकतान्त्रिक पार्टी आवद्ध समाजिक लोकतान्त्रिक मगर संघ आवद्ध रहेको विज्ञप्तिमा उल्लेख ।
मगराँत भुमि र मगर समुदायको अधिकारका लागि घोषित संघर्षका कार्यक्रमहरुमा साथ सहयोगका लागि संयोजक लोकबहादुर थापा मगरले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।
