राज्यसत्ता,
यसरी पाइन् धोका सन् २००७ देखि अमरसँग सुमित्राको यूकेमै साथीभाईमार्फत चिनजान भएको थियो । अमर पनि विद्यार्थी भिसामै त्यहाँ पुगेका थिए । अमर विद्यार्थी भिसामा त्यहाँ पुगेकाले पूरा समय काम गर्ने स्वीकृति थिएन । सुमित्राले स्टाफ नर्सको रुपमा यूकेको सरकारी जागिर सुरु गरिन् र छोटो समयमै पीआर पाइन । सुमित्राको लोभलाग्दो करिअर र कमाई देखेर अमरले एक स्थानीय वकिलसँग मिली उनीसँग नजिक हुने, विवाह गर्ने, सुमित्राकै आडमा पीआरधारी हुने र सुमित्राको लोग्ने भई उनको सम्पत्ति समेत हडप्ने योजना बनाए । सोही योजना अनुसार अमरले सुमित्रासँग मायाको नाटक गरे । सुमित्राले अन्य केटीहरुसँग विवाह गर्न भन्दा पनि मानेनन् र सुमित्रालाई नै रोजे । अमरकी आमा पनि मगर भएको नाताबाट सुरु भएको चिनजान गहिरो प्रेममा परिणत भयो । ‘त्यसपछि अमरले मलाई मन परायो, तिमीसँगै जीवन बिताउने भन्यो ।’ सुमित्राले आफ्नो कथा सुनाउँदै भनिन्–‘सन् २०१० मा हामी दुवै नेपाल आयौ । मेरो बुबाका पनि दुईवटा पत्नी छन्, मगरलाई विवाह गर्यो भन्दा रिसाउन सक्छन् भनेर उसले आफ्ना बुबा राजेन्द्र पोखरेल र अन्य आफन्तसँग खासै चिनजान पनि गराएन ।
विवाह गरे पनि अमरले नेपालस्थित आफ्नो घरमा नभन्नु भनेर कसम खुवाएको थियो । विश्वासमा परेर अमरले जे जे भन्यो सुमित्राले त्यही त्यही मान्दै गइन । ‘त्यसपछि अमरले यूकेमा मेरो पनि केही होस् भन्यो, बच्चाबच्ची भएपछि मात्र बुबासँग एक्सपोज हुने कुरा गर्यो । त्यसपछि मेरो सम्पत्तिमा नाम जोड्ने काम भयो, साढे ३ लाख पाउण्डको घरमा उसलाई समेत आधा हिस्सेदार बनाएँ ।’ सुमित्राले भनिन्–‘मेरै कमाईबाट उसको ३० हजार पाउण्ड ऋण पनि तिरियो ।’ गएको अप्रिलमा सबै प्रोसेस सकियो र सुमित्राको सम्पत्तिको हिस्सेदार अमर पनि भए । त्यसपछि चाहि अमरको असली रुप सुमित्राले देख्न थालिन्, महसुस गर्न थालिन् । अमरको कपटपूर्ण मायाको पर्दा उघ्रिन थाल्यो । सन् २०१५ मेको पहिलो सातादेखि अमर सुमित्राबाट टाढिन थाले । घर नै नआउने गर्न थालेको अमरले एकदिन सुमित्रालाई फोन गर्यो र ‘मलाई तिम्रो जरुरी छैन, मेरो पीआर पनि भयो, त्यो घर पनि मेरो हो, वकिलले त्यो केटीसँग बसिरहन आवश्यक छैन भन्यो भनेर मलाई भन्यो ।’ बलिन्द्र आँसुका धारासँगै सुमित्राले भनिन्–‘त्यसपछि म एकाएक छाँगाबाट खसेझै भएँ । उसको त प्रि प्लान पो रहेछ मलाई बर्बाद गर्ने । पछि उसको वकिललाई बुझेँ, वकिलले पनि उसको पहिलादेखि नै योजना थियो भनेर कुरा गर्यो । म पूरै सक भएँ, १०–१५ दिनसम्म काममा पनि जान सकिँन ।’
सुमित्रासँग कोर्ट म्यारिज गरेको केही समयमै अमर नेपाल गई त्यहाँ अर्को विवाह गरेका कुरा समेत ढिलो गरी सुमित्राले थाहा पाइन् । पछि अमरले समेत दादागिरी शैलीमा अब तसँग मेरो सम्बन्ध सकियो, नेपालमा रहेकी बुढीलाई लिएर आउँछु भन्दै धम्क्याएको पनि सुमित्राले बताइन । मेरो बुबा पहुँचवाला हो, इटहरीमा सबै मेरा आफन्त छन्, तैले केही ख्यास्न सक्दिनस भनेर भाइबरबाट धम्कीपूर्ण म्यासेज पठायो। सुमित्राले भनिन् ।
अगस्ट ७ तारिखका दिन अमर नेपाल गएको थाहा पाएपछि सुमित्रा समेत न्यायको लडाई लड्ने अठोटका साथ यूकेबाट यहाँ आएकी हुन् । ‘मैले पति भनेर सम्पत्ति दिएँ, जीवन दिएँ, सर्वश्व दिएँ ।’ सुमित्राले भनिन्–‘मलाई नै यसरी धोका हुन्छ भने मैले पनि न्याय पाउनुपर्छ ।’
नेपाल आएपछि मात्र अमरले अर्कीसँग विवाह गरेको सुमित्राले प्रमाण नै भेटिन । विराटनगरबाट अर्की पत्नी भित्र्याएका अमर अहिले फरार छन् । अमर फरार भएपछि यूकेमा कोर्ट म्यारिज गरेको कागजसहित सुमित्रा राजेन्द्र पोखरेलको इटहरीस्थित घरमा गइन । ‘तर अमरका दाजु र आमाले उल्टै उनलाई गाली गरेर फर्काइदिए । बाबुआमा र दाई अशोकले घर प्रवेश गर्न पनि दिएनन् ।’–उनले भनिन् ।
सुमित्राले आफू सोझी मान्छे भएको उल्लेख गर्दै इटहरीका समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल तथा अन्य सबैसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । सुमित्राले दिएको बहुविवाहसम्बन्धी उजुरी निकै धेरै आनाकानीपछि इटहरी प्रहरीले दर्ता गरिदिए पनि अमर यो समाचार तयार पार्दासम्म पक्राउ पर्न सकेको छैनन्।
इटहरीका महिला अधिकारवादीहरुले समेत सोझी नेपाली चेलीको जीवन बर्बाद गर्ने अमरलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् । प्रोत्साहन नेपालकी अध्यक्ष योशा गुरागाईंले सुमित्रालाई शोषण गर्ने अमरलाई तत्काल पक्राउन गर्न आग्रह गरेकी छिन् । उनले सुमित्राको न्यायका लागि इटहरीका महिला अधिकारवादीहरु एक रहेका र अन्य क्षेत्रबाट समेत सहयोग खाँचो रहेको औंल्याइन ।
सुमित्राको न्यायका लागि पहल गर्न काठमाण्डौबाट इटहरी आएकी नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले सुमित्रालाई न्याय दिलाउने बिषयमा पहल गरिदिन इटहरीका सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा महिला अधिकारवादीहरुलाई अपील गरेकी छिन् । सुमित्रा एक प्रतिनिधि पात्र भए पनि यूके र यस्तै आकर्षक कमाई हुने देशमा रहेका नेपाली चेलीहरुलाई धोका दिने र उनीहरुको जीवन बर्बाद पार्ने थुप्रै घटना भएकोले अन्यले समेत आउँदा दिनमा सचेत हुनुपर्नेमा जोड दिइन । योजनाबद्ध ढंगले सुमित्राको जीवन बर्बाद पार्ने अमरमाथि कडा कारबाही हुनुपर्छ । उनले भनिन् ।
पोखरेल परिवारका कुनै पनि सदस्यले यो बिषयमा प्रतिक्रिया दिन मानेनन् ।