गोविन्द घर्ती
रुपन्देही, भदौ १ – नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले संविधानको मस्यौदा जलाएको छ ।

मस्यौदामा आदिवासीको अधिकार कटौती गरि ल्याएको भन्दै संविधानको मस्यौदा जलाएका हुन । रुपन्देहीको भैरहवाको बुद्धचोकमा एक कार्यक्रमको आयोजना गरी मस्यौदा जलाएका हुन । सो अवसरमा बोल्दै आदिवासी जनजाति महासंघ रुपन्देहीका संस्थापक सचिव दलबहादुर विरकट्टाले पहिचान विनाको संघीय संविधान आदिवासी जनजातिहरुलाई मान्य नहुने बताए । उनले आदिवासी जनजाति, दलित, मधेशी, पिछडा वर्गको अधिकार सुनिश्चित हुने संविधान जारी नगरे आदिवासी जनजातिहरुले कडा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले नेपालमा बोलिने सम्पूर्ण मातृभाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग पाउनु भन्दै राज्यले मातृभाषालाई विभेद गर्ने गरी मस्यौदामा भाषिक निति ल्याएको दावी गरे । विरकट्टाले प्रमुख चार राजनैतिक दलका नेताहरुले संविधान निर्माणको नाममा नेपाली जनताको अधिकार कुण्ठित गर्ने काम गरेको आरोप लगए । सो अवसरमा तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादव, आनन्द गुप्ता, कृष्णबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए । आदिवासी जनजाति महासंघका सचिव दुर्गाबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी महासंघले तय गरेको संविधानको मस्यौदा जलाउने कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी नगएको भन्दै युवाहरुले आक्रोस पोखेका छन् । नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन अन्र्तगत देशको ७५ वटै जिल्लाको सदरमुकाममा संविधानको मस्यौदा जलाउने कार्यक्रम रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयले भदौं ६ र ७ गते नेपाल बन्द गर्ने सहितको भदौ १० सम्मको आन्दोलन कार्यक्रम घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्न आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका सचिवालय सदस्य तथा युवा फोर्सका केन्द्रय संयोजक जीएस गुरुङ बुटवल आएको भएपनि अध्यक्ष चौधरी नै कार्यक्रममा नगएको भन्दै आक्रोस पोखेको हो ।
संविधानको मस्यौदा जलाउने कार्यक्रममा महासंघका अध्यक्ष चौधरी नगएको भन्दै आक्रोशित युवाहरुले बुटवलमा रहेको जनजाति महासंघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । आदिवासी जनजाति युवा संघका केन्द्रीय सदस्य दिपक गुरुङले एकाएक घोषणा भएको कार्यक्रम रोकिदा महासंघ प्रति शंका लागेको बताए । यसले गर्दा आफैं घोषणा गरेको भदौं ६ र ७ गतेको नेपाल बन्द कार्यक्रम पनि धरापमा परेको छ ।
