देब पचभैया
पाल्पा, भाद्र १ – रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सुन्दरढुंगा जोड्ने पश्चिम पाल्पाकै मुख्य मोटरबाटोको ट्रयाक गत आर्थिक वर्षमा खुलेको भएपनि अझै गाडी चल्न सकेका छैनन् । साढे तीन दशक अघिदेखि निरन्तर बजेट परेको भएपनि बाटो सुचारु हुन नसकेको हो ।
सालझण्डी—सुन्दरढंगा मोटरबाटो अन्तरगत जंगल क्षेत्रमा बाँकी रहेको ७ किलोमिटरको नयाँ ट्रयाक गत वर्ष खोलिएको थियो । तर बाटोको पूर्ण सफाई हुन नसक्दा एकपटक पनि गाडी गुड्न सकेका छैनन् । पाल्पाको अति बिकट मानिने यस क्षेत्रमा वर्षेनी पर्ने बजेटहरु ठेकेदार कम्पनी र प्राविधिकहरुको मिलेमतोमा कागजमा मात्र सम्पन्न भएका स्थानिय भुवन कार्कीको गुनासो छ ।
यसपटक यो मोटरबाटो बहुबर्षीय योजनामा परेपछि बाटोे छिटो निर्माण हुने अपेक्षा गरिए पनि सो अनुसार काम हुन नसकेको उहाको भनाई छ । गत चैत महिनामा बाटो बहुवर्षीय योजनामा परेपछि गत आर्थिक वर्षको अन्तिम असार महिनामा केही काम भएको छ । ठेकेदार कम्पनी अर्घाखाँची निर्माण सेवाका सागर भुसालले ४ सय घनमिटर ग्याविनको काम असार महिनामा गरेको जानकारी दिनुभयो । अहिले भने वर्षाको कारण काम स्थगित गरेको र असोज पहिलो साताबाट काम पुनः सुचारु हुने भुसालको भनाई छ ।
उहाका अनुसार उक्त बहुवर्षीय योजनाको लागि ४ करोड १८ लाखको सम्झौता भएको छ । यो आर्थिक वर्षमा करिब ७ किलोमिटर बाटोको स्तरीकरण गरिने छ । बाटोको नाली, ग्याबिन निर्माण तथा ग्राभेल समेत गरिने जनाईएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिनीयर सुजन अधिकारीले बहुवर्षीय योजनाको काम निरन्तर चल्ने तर बढी पानी परेको बेला मात्र केही समय स्थगित गरिने जानकारी दिनुभयो । तर अधिकारीले भने झैं काम निरन्तर हुने संकेत भने देखिएको छैन । सम्झौता नै ढिलो भएका कारण बहुवर्षीय योजनामा परेपछि पनि जम्मा २० लाख बराबरको काम भएको इन्जिनीयर छविलाल पौडेलले जानकारी दिनुभयो । मोटरबाटो बहुवर्षीय योजनमा परेपछि पनि काम ढिलो हुने संकेत देखिएको स्थानीयले बताएका छन् ।
बहुवर्षीय आयोजना भनिए पनि काम तिब्र रुपमा भएको छैन । एक महिना काम गरेको निर्माण कम्पनीले भदौ लाग्दा समेत काम सुरु गरेको छैन, स्थानिय पुरन लम्तरी प्रश्न गर्नुहुन्छ ‘असार महिनामा काम गर्न सक्नेले साउनमा किन नसक्ने ?’
बहुवर्षीय योजनाको काम कुनै महिना पनि रोक्न नहुँने उहाँको बुझाई छ । सडक डिभिजन प्रमुख अधिकारीका अनुसार पनि बहुवर्षीय आयोजनाको काम बाह्रैमास गर्न सकिन्छ तर ठेकेदार कम्पनीले वर्षायामको काम गुणस्तरीय नहुँने र लागत पनि बढी लाग्ने भन्दै काम स्थगित गरेको छ ।
पाल्पा बल्ढेङ्गगढी गाविसमा पर्ने जंगल क्षेत्रको ७ किलोमिटर बाटो सफाई गरेमात्र पनि गाडी चल्न सक्ने अवस्थामा छ । तर बाटो सफाई हुन सकेको छैन ।
२०४७ सालबाटै बाटो निर्माणको प्रयास भएपनि वि.सं. २०५१/५२ सालदेखि मोटरबाटोको लागि निरन्तर बजेट पर्दै आएको छ । करिब ३० किलोमिटर दुरीको यो बाटोमा जंगल क्षेत्रको सात किलोमिटर बाहेकको क्षेत्रमा हिउँदभर गाडी चलिरहेका छन् ।
