पोखरा, २९ साउन – २१ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारी मगर भाषा प्रतिष्ठान कास्की शाखाद्वारा आयोजित पश्चिमाञ्चल क्षेत्रस्तरीय खुल्ला मगर भाषा कविता प्रतियोगितामा तनहुँका कवि होम सिंजालीमगर ‘छिद्रमुटु’ प्रथम भएका छन ।
शुक्रबार पोखरामा सम्पन्न प्रतियोगितामा कास्कीका ईश्वरी थापामगर द्वितीय, कास्कीका यामकुमार थापामगर तृतीय, बागलुङकी निशा घर्तीमगर सान्त्वना र तनहुँका कृष्ण मिगिन मगर सान्त्वना हुन सफल भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र एक हजार ५ सय (दुई जनालाई) प्राप्त गर्न सफल भए । प्रतियोगिताका निर्णायकहरूमा प्रा. चुडामणि खनाल, वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर र कवि रूद्र ‘सन्देश’ मगर रहेका थिए।
यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापामगरले मगर भाषा र साहित्यको विकासका लागि यस्ता प्रतियोगिता फलदायी साबित हुने बताए ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि संघले आफ्ना विभिन्न भ्रातृसंस्थामार्फत् गतिविधिहरू गर्दै आएको र मगर पहिचान स्थापित गर्ने कार्यमा आफूहरूको सधैं साथ रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष एवं महिला विभाग प्रमुख श्याममाय पुनमगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव बालकृष्ण काउछामगर, मगर चलचित्रकर्मी संघ नेपालका महासचिव मेजन पुनमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, सह–प्रा. यामबहादुर रानामगर, हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापामगर, नेपाल मगर महिला संघ कास्कीका उपाध्यक्ष नुनु रानामगर, रेडियो नेपालका सञ्चारकर्मी खेम सारूमगरलगायतले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य कुमार थापामगर र उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
