पोखरा, २३ साउन – बागलुङ–पोखरा मगर समाजको नवौं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
सो साधारणसभाको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी इञ्चार्ज झलकबहादुर रानामगरले मगरात नभए मगरहरू लड्न तयार रहेको बताए ।
मगरात नभए चुप नलाग्ने चेतावनी दिँदै रानाले मगरात स्थापनाका लागि मगरहरूलाई सचेत र तयार भएर बस्न आह्वान समेत गरे । नयाँ संविधानको मस्यौदा मगर जातिका लागि स्वीकार्य नभएको भन्दै रानाले गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चलका जिल्लाहरूलाई मिलाएर मगरात बनाउनुपर्ने धारणा समेत राखे ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर, बागलुङ–पोखरा
मगर समाजका सल्लाहकार संयोजक भीमबहादुर श्रीसमगर, जिल्ला शिक्षा कार्यालय बागलुङका स्रोत व्यक्ति ढकबहादुर पुनमगर, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगर, नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष चन्द्रप्रकाश थापामगर, रामबजार एकाइ समितिका अध्यक्ष ढालबहादुर सारूमगर, नेपाल अपाङ्ग कल्याण संघ कास्कीका अध्यक्ष सन्तबहादुर परियार, समाजका निवर्तमान सचिव एवं सल्लाहकार कृष्णाकुमारी श्रीसमगरलगायतले बोलेका थिए।

कार्यक्रममा लोकदोहोरी गायक नवीन रानामगर, गण्डकी च्याम्पियन–२०७० का उपबिजेता सन्तोष पुनमगरले सांगीतिक प्रस्तुती राखेका थिए भने कलाकारहरूले सोरठी, कौह्रा, सालैजोलगायतका विभिन्न लोकसांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
साधारणसभाले सचिव गजेन्द्र थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।
समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र स्वागत उपाध्यक्ष रामबहादुर पुनमगरले गरेका थिए ।
