बुटवल २२ श्रावण – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले जनविरोधी संविधानको मस्यौदा खारेज र अग्रगामी संविधान निर्माणका लागि दवाब दिन सडक संघर्षमा जानुपर्ने बताएका छन ।
उनले संघर्ष विना जनताको संविधान नबम्ने ठोकुवा पनि गरे । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले संविधानको मस्यौदा तथा लिपुलेख सम्झौताको विरोधमा बुटवलमा गरेको कोण सभामा बोल्दैं सुवेदीले उक्त कुरा बताएका हुन ।
उनले मस्योैेदाले दलित,जनजाति,महिला,किसान लगायत कसैको पनि अधिकार समेट्न नसकेको बताउंदैं सबैका अधिकार सुनिश्चित गर्न सडक आन्दोलनको विकल्प नभएको जिकिर गरे । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदीले अग्रगामी संविधान निर्माणका लागि सर्बपक्षीय गोलमेच सभा नै एक मात्र विकल्प भएको धारणा व्यक्त गरे ।
नेकपा(एकीकृत)रुपन्देहीका सचिव के.जी.कुमार पौडेलको संचालनमा भएको सभामा मातृका नेतृत्वको नेकपा –माओवादी)रुपन्देहीका सचिवालय सदस्य छन्बहादुर के.सी.ले पनि बोलेका थिए । यसैबीच संविधानको मस्यौदा,लिपुलेक सम्झैताको विरोध,सिमांकन र नामाङकनसहितको संघीयता र अग्रगामी संविधान निर्माणका लागि दबाब दिन ३३ दलीय मोर्चा,आदिवासी जनजाति राष्ट्रिय आन्दोलन,मधेसवादी दलले संयुक्त रुपमा श्रावण ३१ गते आमहडताल सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको समेते सो अवसरमा जानकारी गराइएको थियो ।
दलहरुका अनुसार बन्दको पूर्व सन्ध्यामा अन्तरक्रिया,छलफल,सभा,गोष्ठी गदैं श्रावण ३० गते रुपन्देहीसहित देशभर मसाल जुलुस निकाल्ने जनाएका छन् ।
