देब पचभैया
काठमाडौं, १९ साउन । नेपाल आदिवासी जनजाति महासंघले यस पटकको विश्व आदिवासी दिवस सडकमा मनाउने भएको छ ।
संविधानको मस्यौदाले आदिवासी जनजातिसंग विगतमा भएका सहमति र सम्झौतालाई नसमेटेको प्रति आक्रोश ब्यक्त गर्दै २१ औं विश्व आदिवासी दिवस सडकमा मनाउन लागिएको सभासद् तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए ।
‘जनजातिसंग विगतमा भएका सहमति, अन्तराष्ट्रिय महासन्धिको विरुद्धमा संविधानको मस्यौदा आएको छ, यो हामीलाई मान्य हुने छैन’ उनले भने । आदिवासी जनजातिको विरुद्धमा आउने संविधान कागजको खोस्टामा सिमित हुने भन्दै सभासद् तथा अध्यक्ष कुमालले प्रतिष्ठाको लडाईमा सबैलाई एक भएर लाग्न र विश्व आदिवासी दिवस सभ्य र भब्य रुपमा सफल पार्न आग्रह गरेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सभासद् तथा महासंघका महासचिव पेम्बा भोटेले २१ औं विश्व आदिवासी दिवस मनाइरहँदासम्म आदिवासी जनजातिहरुको हकअधिकार सुनिश्चित नभएकाले सडकमा ओर्लिएर शक्ति प्रदर्शन गर्दै दिवस मनाउन लागिएको बताए । ‘अब बन्ने संविधान प्रारम्भिक मस्यौदामा झैं जनतालाई झुक्याउने खालको नबनोस ।’ उनले भने । “पहिचान सहितको संघीयता आदिवासी जनजातिको अडान १ धर्म निरपेक्षता, समानुपातिक समावेशी सहितको नयाँ संविधान’’ भन्ने मूल नाराका साथ यस पटकको विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
विश्व आदिवासी दिवसका अवसरमा नयाँ संविधानमा मगर अगुवा तथा सभासद्ब बिच छलफल कार्यक्रम, आदिवासी जनजाति महिलाहरुको अधिकाकर सम्बन्धी अन्तरक्रिया, राजनीतिक दलका नेता तथा सभासद्हरुसंग अन्तरक्रिया लगायत कार्यक्रमहरुको आयोजना गर्ने महासंघको विज्ञप्तिमा उल्लेख छ ।
साउन २४ गते बृहत झाँकी सहितको र्याली भृकुटीमण्डपबाट शुरु भई राष्ट्रियसभागृहमा पुगि सभामा परिणत हुने महासंघले जनाएको छ ।
