लेखनाथ, १६ साउन । नेपाल मगर सङ्घ तालचोक एकाइ समिति, लेखनाथको छैठौं वार्षिक साधारणसभा एवं बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बगादीखोलास्थित एकाइ समितिको सभाहलमा शनिबार सम्पन्न सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगरहरू एकजुट भएर नयाँ संविधानमा आफ्नो हक स्थापित गराउन लागिपर्नुपर्नेमा जोड दिए ।
नयाँ संविधानको मस्यौदाले मगरलगायतका आदिवासी जनजातिको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै अध्यक्ष रानामगरले मगरहरूको अधिकार नसमेटिएको संविधानको कुनै अर्थ नरहेको बताए ।
कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका सचिव यामबहादुर थापामगर, जिल्ला सदस्य एवं एकाइका प्रमुख सल्लाहकार बुद्धिमाया थापामगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर सङ्घ तल्लो पुँडीटार एकाइ समितिका अध्यक्ष सु. पूर्णबहादुर थापामगर, नेपाल कुमाल समाज सुधार समिति, लेखनाथका अध्यक्ष डिल्लीराम कुमाल लगायतले बोलेका थिए ।
सो अवसरमा ७० वर्ष नाघेका एकाइमा आबद्ध वृद्धवृद्धा तथा २०७१ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, साधारणसभाले अध्यक्ष प्रेमबहादुर बुढाथोकीमगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र उपाध्यक्ष डिलबहादुर थापामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।
अध्यक्ष प्रेमबहादुर बुढाथोकीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमबहादुर थापामगरले गरेका थिए भने ओमकुमारी थापामगरले स्वागत गरेका थिए ।
यसैबीच, सोही अवसरमा सम्पन्न मगर युवाहरूको भेलाबाट जीतबहादुर थापामगरको अध्यक्षतामा ९ सदस्यीय नेपाल मगर युवा सङ्घ तालचोक एकाइ समिति समेत गठन गरिएको छ ।
जसको उपाध्यक्षमा कृष्णकुमारी रानामगर, सचिवमा विनिता रानामगर, सह–सचिवमा निशान थापामगर र कोषाध्यक्षमा विनु पुलामीमगर रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा प्रकाश थापामगर, प्रदीप थापामगर, इन्दु थापामगर र शर्मिला रानामगर रहेका छन ।
