रूद्र श्रीसमगर
पोखरा, १४ साउन – कास्कीको सिल्दुजुरे–८, मेयलबोटस्थित बराह प्राविको खेल मैदान बुधबार रातिको अविरल वर्षाका कारण आएको पहिरोले बगाएको छ ।
२०१६ सालमा स्थापित सो विद्यालयको कार्यालय कोठा र कक्षा १ पढाइ हुने कोठामा समेत पहिरोका कारण धाँजा फाटेको प्रधानाध्यापक विष्णुमाया पोखरेलले जानकारी दिए । स्थानीयबासी समेत रहनुभएका नेकपा–माओवादी कास्की क्षेत्र नं. १ का इञ्चार्ज लालबहादुर गुरुङले जानकारी दिए । वर्षायामको छुट्टीपछि बुधबारदेखि खुलेको सो विद्यालय पहिरो गएपछि पुनः बिहीबारदेखि बन्द भएको छ ।
सो विद्यालयमा चार जना शिक्षक र ४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भिरालो डाँडामा रहेको र सडक खनिएका कारण कमजोर भएको जमिनमा पहिरो गएको गुरुङले बताए । पहिले नै पहिरो गएको खेल मैदानमा सामान्य पर्खाल उठाएर तारजालीले कम्पाउण्डिङ गरिएकोमा गए राती पहिरो गएको बताइएको छ ।
