रेखीराम राना मगर
पाल्पा, साउन १० – राष्ट्रिय जनमुक्ति पार्टीले चार दलको सहमतिमा आएको मस्यौदाको बिरोध गर्दै खबरदारी सभा गरेको छ ।
कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक दलको सहमतिमा आएको संविधानको संविधानको मस्यौदाको बिरोध गर्दै जनमुक्ति पार्टीले आज तानसेनको शित्तलपार्टीमा खबरदारी सभा गरेको हो ।
सभामा बोल्दै पार्टीका महासचिव केशव सुर्यबंशीले संघीयताको सिमांकन र नामांकनबिना आएको संविधान आफूहरुलाई मान्य नहुने बताए । ठूला दलका नेताले सत्ता स्वार्थका लागि जनताको चाहनाबिपरीत जनबिरोधी संविधान ल्याउन खोजेको आरोप उनले बताए ।
महासचिव सूर्यबंशीले पिछडिएका वर्ग, आदिवासी, महिला, मुस्लिम, अल्पसंख्यकको बिरुद्धमा संविधान ल्याउन लागेको भन्दै आपत्ति जनाए । अहिले चार दलले ल्याएको मस्यौदा अनुसार संविधान जारी हुने हो भने समावेशी लोकतन्त्रको हत्या हुने भन्दै उनले पछि परेको समुदायको हक कटौती गरेर लोकतान्त्रिक संविधान बन्न नसक्ने दावी गरे । यस्तै जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र बिराधी संविधान जनताले नमान्ने बताए । उनले जातीय जनसंख्याका आधारमा समानुपाति प्रतिनिधित्व, स्वायक्तताले मात्र लोकतन्त्र दिगो हुने उल्लेख गरे ।
मगरात राज्य परिषद्द्वारा आयोजित बिरोध सभामा मुस्लिम समुदायका संयोजक डा. महोम्मद हसान, भूमिहीन आयोगका संयोजक हरिदेब थापाले २०६२,०६३ को आन्दोलनको मर्म अनुसार संविधान लेख्नुपर्नेमा जोड दिए । कार्यक्रम संघीय परिषद्का इन्चार्ज हस्तबहादुर थापा, टेकबहादुर वीरकट्टाले देशभर जनतालाई सचेत बनाउन यस्ता खबरदारी सभा गरिएको जानकारी दिए ।
