गोविन्द घर्ती
देवदह-आर्थिक उपार्जन तथा पर्यटकीय क्षेत्रको विकासको लागि सामुहिक माछा पालन गर्न रुपन्देहीको देवदह–७, केउलीका स्थानीयवासीहरु लागि परेका छन् । देवदह क्षेत्र अर्गानिक तरकारी उत्पादनको रुपमा परिचित भईरहेको बेला माछा पालन गरी आर्थिक उपार्जन गर्न शुरुवात गरिएको हो । माछा पालनबाट आएको आम्दानीबाट सामाजिक विकासका कामहरु गरिने समुहले जनाएको छ । कृषि कुलो वाध तथा संरक्षण समितिको मातहतमा रही उक्त माछा पालन गर्न लागिएको समितिका अध्यक्ष चिनीसरा थापाले बताए । माछा पालनलाई व्यवसायीकरण गर्दै आम्दानीका श्रोतहरु बढाउदै लैजाने र भविष्यमा अन्य काम पनि सामुहिक रुपमा गर्ने सोच रहेको अध्यक्ष थापाको भनाई रहेको छ । पोखरीमा रहेको पानीलाई माछा पालन वाहेक तरकारी खेती र अन्य कृषि फर्ममा लगाउने थापाको भनाई रहेको छ ।
जिल्ला भू–संरक्षण कार्यालय रुपन्देहीको २ लाख १८ हजार आर्थिक सहयोग र स्थानीय समुहको श्रमदानबाट पोखरी निर्माण गरी सामुहिक माछा पालन गर्न लागिएको थापाको भनाई रहेको छ । करिव १ कठ्ठा जग्गा क्षेत्र फलमा निर्माण गर्न लागिएको माछा पोखरी केही दिनमा नै सम्पन्न गरिने भएको छ । राजमार्ग देखि नजिकै रहेको केउली गाउलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सामुहिक माछा पालन र अर्गानिक तरकारी खेतीले सहयोग पु¥याउने सरस्वती निमाविका प्रधानाध्यापक खेम थापाको भनाई रहेको छ । देवदह नगरपालिकाले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिरहेकोले केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयवासी लागिपरेको प्रधानाध्यापक थापाको भनाई रहेको छ ।
केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने धेरै कुराहरु रहेको सरोकारवालाहरुको भनाई रहेको छ । व्यवस्थित पिकनिक स्पोट, रमणीय वातावरण, खोला तथा झर्ना, पोखरी, स्थानीय पहिचानका खानेकुराका कारण पर्यटकको अकर्षणको केन्द्रको रुपमा रहेको छ । केउलाी गाउलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्वन्धीत निकायहरु लाग्नु पर्ने देखिन्छ ।
