सनु थापा मगर
बुटवल , संविधानको मस्यौदाबारे राय सुझाव लिन बुटवल आइपुग्नु भएका जनजाति महासंघका महासचिव पेम्बा भोटेलाई जनजाति अगुवाहरुले सुझावभन्दा पनि मस्यौदा नै च्याटेर विरोध जनाएका छन् ।
आदिवासी जनजाति अगुवाहरुले संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्ने आन्दोलन तुहाउंन महासंघ नेतृत्वले पर्दा पछाडि बसेर भुमिका खेलेको भन्दै मस्यौदा आइसकेपछि विरोध गर्नुको कुनैं तुक नभएको पनि आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीले शुक्रबार बुटवलमा राखेको संविधानको पहिलो मस्यौदा बारे जनजातिको राय सुझाव लिने कार्यक्रममा महासंघकै महासचिव तथा सभासद् भोटेकै अगाडि मस्यौदा च्याटेर रुपन्देहीका जनजाति अगुवाहरुले विरोध गरेका हुन् ।
कार्यक्रममा आदिवासी जनजाति अगुवा झमबहादुर गुरुङले संविधानको मस्यौदा च्याटेर विरोध गरेको हो । उनले संविधान मस्यौदा आइसकेपछि विरोध गर्नुको अर्थ नभएको पनि बताए । नेपाल छन्त्याल संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले जनजाति आन्दोलनको बेला लुक्ने र मस्यौदा आएपछि विरोध गर्ने महासंघको पारा जनजातिको आखांमा छारा हाल्ने काम भएको आरोप लगाए । भुजेल सेवा समाज,रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र भुजेलले महासंघले राखेको छलफलको कुनै अर्थ नराख्ने भन्दैं महासचिव भोटेको आलोचना गरे । नेपाल मगर संघ,रुपन्देहीकी उपाध्यक्ष गीता सारुले संविधानमा जनजाति महिलाको अधिकार सुनिश्चित गर्ने खालको सुझाब राख्न नसकेको उल्लेख गरिन । कार्यक्रममा केही वक्ताले बाहेक बोल्ने अधिकाशं जनजाति अगुवाहरुले भोटेलाई जनजाति आन्दोलनको विरोधी भन्दैं सक्ताधारी दललाई खुशी पार्न नाटक मञ्चन गर्न आएको भन्दैं विरोध जनाएका थिए ।
कार्यक्रममा महासंघका महासचिव भोटेले जनजाति अगुवाहरुले सोधेका प्रश्नको जवाफ दिनुभन्दा महासंघ र आफ्नो बचाउं गरेर उम्कने प्रयास गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति पत्रकार मञ्च,नेपाल,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना, जनजाति महासंघ,तिलोतमा नगर समन्वय,परिषद्,रुपन्हीका अध्यक्ष शंकर गाहा,साविक सेमलारका अध्यक्ष जय छन्त्याल,रुद्रपुरका अध्यक्ष पुर्णबहादुर पुन,मगर संघ,बुटवल उपमहानगरपालिका समितिका अध्यक्ष क्या.किशनबहादुर थापा, लगायतले बोलेका थिए ।
कार्यक्रम जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीको अध्यक्षता,सचिव दुर्गाबहादुर थापाको संचालन तथा थारु कल्याणकारीणी सभा,रुपन्देहीका कोषाध्यक्ष खुशीराम थारुको स्वागतमा भएको थियो ।
