रूद्र श्रीसमगर
पोखरा, ३१ असार – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राष्ट्रिय मोर्चाले चीन र भारतबीच भएको लिपु लेक सम्झौता आज पोखरामा जलाएको छ ।
पोखराको लखनचोकमा आयोजित विरोधसभामा नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी श्याम, केन्द्रीय सदस्य लोकबहादुर थापा, नेकपा (एकीकृत)का केन्द्रीय सदस्य रामजी थापा र तमुवान प्रदेश सचिव भीमबहादुर श्रीसले संयुक्त रूपमा लिपु लेक सम्झौता जलाएको हो ।
विरोधसभामा बोल्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान अजितले चीन र भारतबीच भएको लिपु लेक सम्झौता हेपाहा प्रवृत्तिको उपज भएको बताए । लिपु लेक नेपालको भूमि भएको भन्दै नेता अजितले लिपु लेक सम्झौता सच्याउन नेपाल सरकारले कुनै पहल नगरेर लाचारीपन देखाएको आरोप समेत लगाए ।
सो अवसरमा नेकपा–माओवादी कास्कीका सह–सेक्रेटरी सूर्यबहादुर खड्का आलोकले समेत बोलेका थिए ।
