गोविन्द घर्ती
देवदह, ३१ असार – रुपन्देही जिल्लालाई–२०७२ को चैत्र मसान्त भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ ।
जिल्लाम यस वर्षको असार मसान्तर सम्म ८८ दशमलव ३८ प्रतिशत शौचालय निर्माण भई सकेको र बाँकी रहेको ११ दशमलव ६२ प्रतिशत शौचालय निर्माण सम्पन्न गरि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले २०७२ चैत्र मसान्त भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य सहितको रणनीतिक योजना बनाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख शंकरमणी ज्ञवालीले बताए ।
डिभिजन कार्यालयका अनुसार जिल्लाका २ वटा नगरपालिका र ३२ वटा गाविस खुल्ला दिसामुक्त भईसकेको ज्ञवालीले बताए । जिल्लाका कुल १ लाख ६३ हजार ८ सय ३५ घरधुरी मध्ये १ लाख ४४ हजार ८ सय घरधुरीमा शौचालय बनी सकेको र बाँकी १९ हजार ३५ घरमा अझै शौचालय बन्न बाँकी रहेको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले बुटवलमा गरेको संचारकर्मीसँग वास विषयक अन्र्तक्रिया तथा प्रगति समिक्षा गोष्ठीमा सो कुराको जानकारी दिएको हो । गोष्ठिमा आर्थिक वर्ष २०७१/०७२ मा खुल्ला दिसामुक्त अभियानका लागि विनियोजन गरिएको ६० लाख रुपैयामा ५६ लाख खर्च भएको डिभिजन कार्यालयका ईन्जिनियर धु्रव्र धितालले जानकारी दिए ।
त्यस्तै अर्का ईन्जिनियर देवीप्रसाद पाठकले जिल्लामा भएको खानेपानी तथा ढल निकासमा भएको प्रगतिको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । डिभिजन कार्यालयका प्रमुख शंकरमणी ज्ञवालीले आगामी चैत्र मसान्तर भित्र सबैको सहयोगमा खुल्ला दिसामुक्त जिल्ला घोषणाको अभियानले सार्थक पाउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, वास मिडिया फोरमका उपाध्यक्ष हरिष ढकाल, वासमिडियाका सहसचिव लक्ष्मण पोखरेल, खानेपानीका प्राविधिक ईश्वरीप्रसाद आचार्य, पत्रकार निरु गौतम, झविन्द्र देवकोटा लगायतले जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताएका थिए ।
