रूद्र श्रीसमगर
पोखरा, २९ असार – नेपाल मगर सङ्घ कास्कीको आयोजनामा एक दिवसीय ‘संगठनात्मक पद्धति र नेतृत्व विकास’ प्रशिक्षण सम्पन्न भएको छ ।
पोखरा उपमहानगरपालिका कार्यालयको सहयोगमा मंगलबार आयोजित सो कार्यक्रममा नेपाल मगर सङ्घका पूर्व महासचिव एवं अधिकारकर्मी अधिवक्ता सुरेन्द्र थापामगरले ‘संगठनात्मक पद्धति र नेतृत्व विकास’बारे प्रशिक्षण दिएका थिए ।
सो अवसरमा प्रशिक्षणको उद्घाटन गर्दै नेपाल मगर सङ्घ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगरले मगरहरूलाई सचेत बनाउन यस्ता प्रशिक्षणको जरुरी रहेको बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीले आदिवासी जनजाति सचेतनाका लागि निरन्तर अभियान चलाउनुपर्ने आवश्यकता रहेको भन्दै प्रशिक्षणले सशक्तिकरणमा सघाउ पुर्याउने बताए ।
कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलकबहादुर रानामगर, कास्की जिल्लाका संस्थापक उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगर लगायतले पनि बोलेका थिए ।
अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव संगीता पुनमगरले र उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कास्की जिल्लाभरिका १२० जना मगर अगुवाहरूको सहभागिता रहेको थियो ।
