मगर लगायतका आदिवासी जनजातिको मागलाई वेवास्ता गरिए मुलुकमा सशस्त्र संघर्ष गर्ने चेतावनी
हीराबहादुर घर्तीमगर
रोल्पा , असार २८ – राज्यका हरेक निकायमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै रोल्पाका मगरले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापन पत्र पठाएका छन ।

नेपाल मगर संघ जिल्ला कार्य समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको मगरको टोलीले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत सभाध्यक्षलाई ज्ञापन पत्र पठाएको हो ।
मगरात्त संयुक्त संघर्ष समितिका सह संयोजक एवम मगर संघ रोल्पाका उपाध्यक्ष श्यामबहादुर बुढामगरको नेतृत्वमा गएको मगरको टोलीले प्रजिअ शर्मालाई सोमबार १४ बुद्धे ज्ञापन पत्र हस्तान्तरण गरेको छ । ज्ञापन पत्रमा राज्यका हरेक निकायमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लागु गर्नु पर्ने, पहिचान सहितको संघीय संविधान जारी गर्नु पर्ने, नामांकन र सीमांकन सहितको संविधान जारी गर्नु पर्ने, पूर्ण समानुपातिक प्रतिनिधित्व लागु गर्नु पर्ने, बहुभाषिक विश्व विद्यालय स्थापना गरिनु पर्ने, धर्मनिरपे्रक्षता लागु गरिनु पर्ने, माओवादी उद्गमथलो रोल्पालाई क्षतिपूर्ति सहितको बजेट उपलव्ध गराइनु पर्ने, आमा वा बुवा नामबाट नागरिकता प्रदान गरिनु पर्ने लगायतका छन ।
अल्पसंख्यक जातिबाट बहुसंख्यक मगर लगायतका आदिवासी जनजाति शोसित र शोषित रहँदै आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मगर लगायतका आदिवासी जनजातिको मागलाई वेवास्ता गरिए मुलुकमा ढिलो चाँडो सशस्त्र संघर्ष हुने सक्ने चेतावनी समेत ज्ञापन पत्र मार्फत संविधान सभालाई दिइएको छ ।
मगरमा माथि राज्यले गर्दै आएको विभेद अब आफूहरुलाई स्विकार्य नहुने बरु सशक्त आन्दोलन गरेर अधिकार प्राप्त गर्न तयार रहेको आन्दोलन समितिका सह संयोजक बुढामगरले जानकारी दिए ।
