नर्सका भोलेन्टियर पीडा

Read Time:7 Minute, 45 Second

मनोज घर्तीमगर

पोखरा– ८ सृजनाचोककी सोनिका बरालको सपना थियो– एसएलसी पास गर्ने बित्तिकै नर्सिङ पढ्ने ।

 

तीन वर्षे कोर्स सकेपछि त जागिर पक्का । सोनिका जुन सपना साँचेर नर्सिङ पढेकी थिइन्, व्यवहारमा ठिक उल्टो ब्यहोरिन् । पाँच वर्ष अघि पोखरा नर्सिङ क्याम्पसमा सरकारी कोटाबाट नाम निकालेर नर्सिङ सिध्याएकी उनले जागिर त टाढा, भोलेन्टियर सेवा गर्न पनि ठूलै माथापच्ची गर्नुपर्यो । ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भोलेन्टियर गर्ने चहाना थियो, आफ्नो मान्छे नभई चान्स नपाइने रैछ’ सोनिकाले दिक्दारी पोखिन्,‘ठूलो स्कोप छ भन्ठानेर नर्सिङ पढेँ । तर पिसिएलको कामै छैन रैछ । बरु आएसस्सी गरे बिएस्सी नर्सिङ गरेको भए सकिसक्ने थिएँ ।’

झन्डै दुई लाख खर्च गरेर पढ्दै गर्दा सेतो गाउन लगाएर सोनिकाले प्रयोगात्मकका बेला पश्चिमाञ्चलमै बिरामीको सेवा त गरिन् । त्यही अस्पतालमा भोलेयन्टियर गर्न नपाउँदा भने खिन्न छिन् । नर्सले सरकारी अस्पतालमै भोलेयन्टियर गर्ने चहानाले बढी चाप भए पछि पश्चिमाञ्चल अस्पताले बेलाबेला ‘भोलेन्टियरका लागि कष्ट नगर्नुहोला’ लेखिएको सूचना टाँस्छ । सोनिकालाई पनि यस्तै सूचनाले झस्कायो । ‘जति प्रयास गर्दा पनि भोलेन्टियर गर्न नपाउने भए पछि पद्यम् नर्सिङ होममा पुगेँ’ दुई वर्षदेखि जागिर पाउने आशमा पद्यम् नर्सिङ होममा भोलेन्टियर गरिरहेकी सोनिकाको आश मरेको छैन, ‘२४ महिना भइसक्यो । अब खाली हुँदैछ भन्नुहुन्छ । अब त कसो जागिर नपाइएला ।’

पढाईमा तीन र भोलेन्टियरमा दुई गरि सोनिकाका पाँच वर्ष सकिदा पनि जागिरको निधो छैन । तैपनि पोखरा मात्रै होइन, देशभर अहिले पनि नर्सिङ पढ्ने लहर चलेको छ । हामी त नर्स बन्ने हो भन्दै ब्रिज कोर्स पढ्ने समूहका समूह यहाँका विभिन्न ईन्ष्टिच्यूटमा भेटिन्छन् । पोखरामा नर्सिङ पढ्ने फेशनै चलेको छ । नर्सिङ पढ्ने लहर चलेको देख्दा म्याग्दीकी ललिता पाइजाको मन पोल्छ । विरगंज नर्सिङ क्याम्पसबाट पढाइ सकाएकी उनलाई भोलेन्टियर गर्दा भाग्यले थोरै भए पनि साथ दियो । पश्चिमाञ्चल अस्पतालमा ७ महिना भोलेन्टियर गर्न पाइन् । ‘नर्सिङ स्ट्यान्डर्ड पेशा हो, पढ्नेबित्तिकै जागिर पाइन्छ भन्ने भ्रम नपाले हुन्छ’ अहिले नर्सिङ तयारी गरिरहेका बहिनीहरुलाई ललिताको सुझाव छ, ‘बाहिर जस्तो सोचिन्छ, पढेपछि ठिक उल्टो छ । नर्सिङ लहर चलेकोले कम्तिमा एक वर्ष भोलेन्टियर नगरि जागिर पाउनै सकिँदैन ।’

सानै देखी नर्स बन्ने रहर थियो पोखरा नयाँबजारकी सन्दिपा थापामगरको । त्यहि भएर उनले मणिपाल कलेजमा चार वर्षे बिएस्सी नर्सिङमा भर्ना भइन् । आएस्सी सकाएकी उनले कडा महेनतका साथ पढिन् । पढाइ सकिने बित्तिकै उनलाई पनि जागिर पाउने आशा थियो । तर, जागिर भन्दा पहिले भोलेन्टियर गर्नै पर्ने बाध्यता बुझेपछि उनलाई केही समय मानसिक तनाब भयो । ‘पढाइ सक्ने बित्तिकै जागिर पाइन्छ भन्ने सोचेर पढ्ने हो भने पछि ठूलो फ्रस्टेशन हुनसक्छ’ ६ महिनादेखी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भोलेन्टियर गरिरहेकी सन्दिपाको सल्लाह छ, ‘बिएस्सी नर्सिङ गरेको मेरो त हालत यस्तो छ, पिसिएल गरेकालाई कस्तो होला ? त्यसैले मेन्टल्ली तयार भएर पढ्नुपर्छ । भोलेन्टियर र जागिर नपाए पनि आत्तिनु हुँदैन ।’

अहिले पनि चाहेको समयमा रोजगारी पाईने र समाजको इज्जितिलो पेशा भएकाले नर्स बन्ने चाहना पाल्छन् धेरैले । अभिभावकहरु पनि आफ्ना छोरीलाई नर्स बनाउन सके उनीहरुको भविष्य सुखद हुने बुझेका छन् । धेरैले नर्सिङ लाइनलाई राम्रो पारिश्रमिक, सजिलै जागिर पाईनेर ईज्जत भएको पेशा ठान्छन् । तर, कुनै समय चलेको ‘छोरि बिग्रे नर्सले’ भन्ने आहान फेरि चरितार्थ हुँदैछ । ‘नर्सिङ पढ्नु भनेको सजिलै रोजगार पाउनु हो भन्ने जमाना गइसक्यो, अहिले भोलेयन्टियर गर्न पनि ठूलो मेहनत गर्नुपर्छ’ एक वर्ष भोलेयन्टियर गरेपछि मणिपाल शिक्षण अस्पतालमा जागिर पाएकी इशाखा थापा भन्छिन्, ‘धेरै समय र पैसा लगानि हुने क्षेत्र भए पनि जागिर पाउने धेरै गाह्रो छ ।’

पोखरामा नीजि क्षेत्रका ६ र त्रिभुवन विश्वविद्यालयको एक गरि ७ वटा संस्थामा नर्सिङको पढाई हुन्छ । ती संस्थामा सबैगरि २ सय ८५ जनाले पढ्न पाउँछन् । वर्षेनी यति धेरै नर्सहरु पोखरामै उत्पादन भएपछि पिसिएल नर्सिङ सकाउँदा झन्डै एक हजार जान पुग्छन् । ‘धेरै चाप भएर भोलेन्टियर पाउन पनि मुस्किल परेको हो’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई कार्यकाल सुपरिटेडेन्ट भइसकेका वरिष्ठ डा. बुद्धिबहादुर थापा भन्छन्,‘भोलियन्टियर गर्छौ भन्ने नर्सको चाप धेरै भएपछि हामीले पटकपटक कष्ट नगर्नुहोला भन्ने सूचना टाँस्न बाध्य भएका थियौं । अहिले झन् गाह्रो छ ।’

प्रमाणपत्र तहको तीन वर्षे नर्सिङ कोर्ष पुरा गर्न कम्तिमा ५ लाख देखी ९ लाख रुपैयाँसम्म खर्च लाग्छ । सरकारीमा नाम निकाल्न सके दुई तीन लाखमै सकिन्छ । यति धेरै खर्च गरेर नर्स बने पनि सोर्सफोर्स हुनेले भोलेन्टियर गर्न पाउँछन्, नहुनेहरु फ्रष्टेशन हुने नर्सहरु पोखरामा बढिरहेका छन् । पिसिएल नर्सिङ गरेकाले २ वर्षको कार्यअनुभव नभएसम्म बिएन, बिएस्सी नर्सिङ पढ्न नपाउने भएकाले पनि धेरैले बाध्य भएर भोलेन्टियर गर्नु परेको गुनासो गर्छन् ।

तस्वीर सौजन्य : सन्दिपा थापामगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %