देब पचभैया
पाल्पा, असार २१-नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाल्पाको आयोजनामा अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नम्वर १६९ सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम पालुङ्गगमैनादीको बतासेमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्त घर्तिमगरले अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नेपाल सरकारले हस्ताक्षर गरेपनि कार्यान्वयनमा नल्याउनु दुखद भएको भन्दै यो सन्धिलाई पूर्णतः कार्यान्वयनमा ल्याई आदिवासी जनजातीलाई अधिकारलाई अनुभूति गराउन माग गरे ।
जिल्ला समन्वय परिषदका उपाध्यक्ष रामबहादुर गरम्जा एसकुमारको सभापतित्वमा भएको कार्यक्रममा परिषदका पूर्व जिल्ला अध्यक्ष गमवहादुर थापा, सल्लाहकार मोहन थापा, नेपाल मगर संघ पालुङ्गगमैनादीका अध्यक्ष गुनबहादुर लम्तरी, नविन थापा, समन्वय परिषदका गाविस अध्यक्ष रामबहादुर राना नेपाल मगर विद्यार्थी संघ जिल्ला अध्यक्ष समसेर सारु लगायतले सरकारले अनुमोदन गरेको महासन्धी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
शान्ता पाँडे मगरले स्वागत गरेको कार्यक्रममा परिषदका जिल्ला सचिव योगवहादुर कुमालले सञ्चालन गरेका थिए । जंगल जडिवुटी,जमिनको सवालमा आदिवासीको अधिकारलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर तय गरिएको महासन्धि २०६४ भदौ ५ गते नेपाल सरकारले अनुमोदन गरिसकेको छ ।
तर त्यो कार्यान्वयन नभएकोमा आदिवासी जनजातीले गुनासो गर्दै आएका छन् ।
