देब पचभैया
पाल्पा, असार १५– सिद्धार्थ राजमार्गको बुटवल झुम्सा सडक खण्डमा पहिरोका कारण वर्षेनी धेरै मानिसको ज्यान गएको भन्दै पाल्पालीहरुले सुरुङ्ग मार्ग निर्माण गर्न नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई ध्यानाकर्षण गराएका छन् ।
जिल्ला विकास समिति पाल्पाको संयोजनमा काठमाडौँ पुगेको प्रतिनिधिमण्डलले आज शहरी विकास मन्त्री नारायण खड्का, पर्यटन मन्त्री कृपासुर शेर्पा, भूमिसुधार मन्त्री दलबहादुर राना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, सदस्य गोविन्द नेपाल, मुख्य सचिव लीलामणि पौडेलसँग भेट गरी यस्तो ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिमण्डलमा सभासद्हरु सोमप्रसाद पाण्डे, हरिप्रसाद नेपाल, राधाकृष्ण कडेंल, तुलसा राना, नेपाली काँग्रस, नेकपा एमाले, एनेकपा माओवादीसहित जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, यातायात व्यवसायीको सहभागिता रहेको छ । टोलीले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको जोखिम समाधान गर्न करिव ४ किलोमिटर सुरुङ्ग मार्ग निर्माण गर्न यो आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेटमा विनियोजन गर्न प्रस्ताव गरेको छ ।
प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यसचिव लीलामणि पौडेलले सिद्धबाबा क्षेत्रको पहिरो र वर्षेनी हुने क्षतिका बारेमा आफूलाई जानकारी रहेको भन्दै सुरुङ्ग मार्गका लागि यस वर्ष कम्तिमा पनि विस्तृत सम्भाव्यता अध्ययन गर्नका लागि बजेट व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलेको बताए ।
मुख्यसचिव पौडेलले कम्तिमा पाल्पाका तीन ठूला दल एकतावद्ध भए चुनढुंगा निकासीमा भएको अनियमितता रोक्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले नेपालमा सुरुङ्ग मार्ग कतै पनि नभएको र नेपालका इन्जिनियरहरुलाई यस क्षेत्रमा पोख्त बनाउन बुटवल तानसेन र अन्य केही मार्गमा यस्ता आयोजना प्रस्ताव गर्ने बचनवद्धता व्यक्त गरे ।
प्रतिनिधिमण्डलले कालीगण्डकीको पानी लिफ्ट गरी तानसेनमा ल्याउने र घरेलु हवाइ मैदान निर्माण गर्न यथेष्ट बजेट छुट्टयाउन मन्त्री तथा अधिकारीहरुसँग मागसमेत गरेको छ । टोलीले भोली प्रधानमन्त्री सुशिल कोइराला र भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिसँग समय लिएर यसै विषयमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।
