नीरज पिठाकोटे
वीरगन्ज, ६ असार-वीरगन्जमा दुईदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । थारु नागरिक समाजको मुख्य आयोजना रहेको दुईदिने आधाभूत तालिम शनिबार सम्पन्न भएको हो । वीरगन्जको रेशमकोठीमा रहेको थारु छात्रावासमा आयोजित तालिमको समापन समारोहमा बोल्दै प्रमुख प्रशिक्षक एवं गोरखापत्र दैनिकका थारु भाषापृष्ठ संयोजक कृष्णराज सर्वहारीले थारु समुदाय अहिले पनि समाजमा खुलेर आउन नसकेको बताए । उनले हरेक जातिको हरेक क्षेत्रमा भाषाको फरक हुँदैमा थारु जातिको अलग पहिचान नहुने भन्दै अनेकतामा एकताको लागि थारु पत्रकारिता आजको अवश्यकता रहेको औल्याए ।
थारु नागरिक समाज बारा, पर्सा, रौतहटका संयोजक परमानन्द चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षक आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटेले आदिवासी जनजातिहरुको गुमेका अधिकार प्राप्त गर्न अझै पैरवी पत्रकारिताको आवश्यकता रहेकोले यसतर्फ कलम चलाउन आग्रह गरे । कार्यक्रममा समाजसेवी हरिकिशोर चौधरी, थारु कल्याणकारी समिति पर्साका उपाध्यक्ष नन्दकिशोर पंजियार, थारु कल्याणकारी समिति बाराका प्रतिनिधि प्रमोद चौधरी, थारु कल्णकारी समितिका कानुनी सल्लाहाकार अधिवक्ता अभयदास थारु, थारु छात्रावास समितिका सचिव सुखल चौधरी, चिन्तामणी चौधरी, ममता महतो, मनोज चौधरी, चिन्तामणी चौधरी र सहभागीहरुको तर्फबाट रौतहटका धमेन्द्र चौधरी, बाराबाट मिनाक्षी चौधरी र रामेश्वर चौधरीले मन्तव्य व्यक्त गरेका थिए । शुक्रबारदेखि संचालित तालिमको समापन कार्यक्रमको संचालन सुरेश चौधरीले गरेका थिए ।
