रूद्र श्रीसमगर
पोखरा, ३ असार-नेकपा–माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’ले भूकम्पपीडितहरूलाई राहत वितरणका क्रममा अनियमितता भएको पाइएकाले त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बिहीबार पोखरामा भएको पार्टीको कास्की जिल्ला संगठन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव बादलले भूकम्पले निम्त्याएको संकटको सामना गर्न सबै एकजुट हुनुपर्ने समेत बताए ।
एक अर्को प्रसंगमा महासचिव बादलले चार दलबीच भएको १६ बुँदे सहमति राष्ट्र र जनताको हितमा नभएको बताउँदै जनवादी व्यवस्था स्थापनाका लागि क्रान्तिको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
यसैबीच, नेकपा–माओवादी जिल्ला संगठन समिति कास्कीको बैठकले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति राष्ट्रघाती र जनघाती रहेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले पोखरा–१८, मझेरीपाटनमा द कार्टर सेण्टरले सुकुम्बासी बस्ती हटाएर काम गर्न लागेकोमा कडा विरोध जनाउँदै वैकल्पिक व्यवस्थाविना सुकुम्बासीलाई नहटाउन आग्रह गरेको छ । सुकुम्बासीलाई हटाउने प्रयत्न भए कडा प्रतिवाद गर्ने चेतावनी समेत बैठकले दिएको छ ।
बैठकले पार्टीको जिल्ला सल्लाहकारमा राम प्रसाद पाण्डेलाई मनोनित गरेको छ । यसअघि, निलप्रसाद श्रेष्ठ र हेमकला गुरुङ माओवादी जिल्ला सल्लाहकार थिए ।
बैठकमा पार्टीका स्थायी समिति सदस्य एवं मध्यपश्चिम ब्यूरो इञ्चार्ज इन्द्रमोहन सिग्देल ‘वसन्त’, पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, पोलिटब्यूरो सदस्य एवं मगरात राज्य इञ्चार्ज सुरेश आलेमगर, केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरि बहादुर चुमान ‘अजित’ र केन्द्रीय सदस्य लोक बहादुर थापामगर ‘धर्म’ले समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका योजनाबारे दिशानिर्देशन गरेका थिए ।
जिल्ला सेक्रेटरी अशोक छन्त्याल ‘अर्जुन’को अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन सह–सेक्रेटरी सूर्य बहादुर खड्का ‘आलोक’ले गरेका थिए । यसअघि, पोखरामै नेकपा–माओवादी तमुवान राज्य संयोजन समितिको बैठक सम्पन्न भएको थियो ।
