रूद्र श्रीसमगर
पोखरा, २३ जेठ
मगर आम सञ्चारकर्मी समाज कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा आदर्श समाज राष्ट्रिय दैनिकका सह–सम्पादक रूद्र बहादुर थापा निर्विरोध चयन भएका छन ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विनु मसराङ्गी, सचिवमा रूद्र बहादुर श्रीस, सह–सचिवमा उमा आले र कोषाध्यक्षमा टीका थापा निर्विरोध चयन भएको हो,त्यसैगरी १३ सदस्यीय कार्यसमितिका सदस्यहरूमा मीना थापा, सुरज थापा, गीता राना, सुमन थापा, हुम बहादुर थापा, मीना राना, कमला थापा र पुनम थापा रहेका छन ।
साथै, अधिवेशनले सात जना सल्लाहकार समेत चयन गरेको छ । जसमा अधिवक्ता सुरेन्द्र थापा, तिलकप्रसाद पुन, हर्क बहादुर आले, खेम बहादुर सारू, बालकृष्ण काउछा, एम बी आस्था र मनोज घर्तीमगर रहेका छन । यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्ण बहादुर रानाले मगर जातिको भाषा, धर्म र संस्कृतिको प्रचार प्रसार एवं विकासमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए ।
मगर सञ्चारकर्मीहरू संगठित हुनु अत्यन्त खुशीको कुरा भएको भन्दै अध्यक्ष रानाले मगर जातिको पहिचान स्थापित गर्नका लागि मगर सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । पत्रकारिताको आफ्नो धर्म हुने भन्दै रानाले आफ्नो कर्म र मर्मलाई ख्याल गरेर व्यवसायिक पत्रकारितामा अघि बढ्न सकिने उल्लेख गरे ।कार्यक्रममा मगर सञ्चारकर्मीको सहयोगका लागि भन्दै नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्ण बहादुर रानाले पाँच हजार र जिल्ला सदस्य बुद्धि माया थापाले एक हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
तदर्थ समितिका संयोजक रूद्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्र बहादुर श्रीसले गरेका थिए भने खेम बहादुर सारूले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
