मिडियामा शहर बजारका नक्कली सस्तो बिकाउ समाचार होइन नेपालको वास्तविकता झल्कने,नेपालको बिकासमा टेवा पुर्याउने खालका जनचेतनामुलक समाचारलाई प्राथमिकतामा राख्न जोड ।
देब पचभैया
पाल्पा, २३ जेठ
ग्रामीण अर्थतन्त्र पर्यटन, कृषि र वनको विकास भएमात्र सुधार हुने तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मुलुकको सम्वृद्धि पर्यटनको विकास गरेमात्र हुने भएकाले यस क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सहभागीहरुले जोड दिएका छन् । कृषिको व्यवसायिकरण र वन क्षेत्रको विकास गर्न सकेमात्र ग्रामीण अर्थतन्त्रको विकास हुनेसमेत बताएका छन् ।
वुटवल मिडीया प्रकाशन प्रालि. वुटवलद्वारा प्रकाशित जनसंघर्षको रजत महोत्सवका अवसरमा पाल्पाको सदरमुकाम तानसेनमा आयोजना गरेको अर्थतन्त्रको जग र ग्रामीण विकास विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मुलुकलाई सम्वृद्धितर्फ लैजान ग्रामीण भेकको विकास हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले राज्यले सही नीति बनाएर त्यही अनुसारको अनुदानको व्यवस्था गर्न सक्यो भने मात्र विकास हुनेसमेत बताए । कार्यक्रमका सहभागीहरुले मुलुकमा अहिलेसम्म आर्थिक क्रान्तिका कुनै पनि काम हुन नसकेको बताउँदै विदेशीको चाहना अनुसारको विकासले कहिल्यै पनि उँभो लाग्ने नसक्नेसमेत बताएका छन् ।
विदेशमा गएका युवालाई यही देशमा राख्ने र उनीहरुलाई सिर्जनशील काममा लगाउन सकेमात्र मुलुकको सम्वृद्धिभएकोसमेत बताएका छन् । कार्यक्रममा सहभागी पूर्वसांसाद यादवबहादुर रायमाझीले ग्रामीण अर्थतन्त्रलाई विकास गर्ने हो भने कृषि, वन र पर्यटन नै महत्वपूर्ण भएको बताए । उनले स्थानीय निकायको निर्वाचन गर्ने र त्यसपछि गाउँमा विकास गर्नेतर्फ लाग्नमासमेत जोड दिए । पर्यटकीय क्षेत्रको पहिचान गरेर त्यहाँसम्म पर्यटक पुर्याउन सक्यो भने आर्थिकस्तर अघि बढ्ने बताउँदै पहिलो विकास थिएन, अहिले विकास पुग्दा गाउँ रित्तिएको उनले बताए ।
नेपाली कांग्रेसका सभापति बीरबहादुर रानाले मिडिया अब बाद र विचारभन्दा माथि उठेर मुलुकको सम्वृद्धिकोलागि पत्रकारिता लाग्नुपर्नेमा जोड । दिए । उनले अबको पत्रकारिता खोजमुलक र अनुसन्धानमुलक हुनुपर्ने सुझाव दिँदै आर्थिक क्रान्तिको विकास गर्नलाई अब सञ्चारको क्षेत्र पनि सक्रिय हुनुपर्ने सुझाव दिए । उनले पूर्वाधार निर्माणसँगै चेतनाको स्तरलाई माथि लग्नुपर्नेमा जोड दिएका थिए ।
एमाले अध्यक्ष देवीप्रसाद बस्यालले सम्वृद्धिको मिसन लिएपछि अबको पत्रकारिता व्यवसायिक हुने बताए । उनले ग्रामीण विकासविना अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउँदै नेपाली गाउँ स्वर्गको ठाउँ भएको देखाएर, जानकारी दिएर पर्यटक भित्रयाउनुपर्नेमा जोड दिए । एमाओवादीका जिल्ला अध्यक्ष बसन्त शर्मा कुशलले गाउँ र सहरको विभेदलाइ अन्त्य गर्दै मिसन र व्यवसायिक पत्रकारितालाई अन्तरसम्बन्धित बनाएर लग्न सुझाव दिए । उनले ग्रामीण भेकमा उत्पादित बस्तुलाई सहरसम्म ल्याउने र अर्थतन्त्रलाई बलियो बनाउँदै लग्नुपर्नेमा जोड दिएका थिए ।
राप्रपा अध्यक्ष डुलबहादुर कुँवरले विदेशी दातृ निकायसँग आत्मनिर्भर बनेर मुलुक सम्वृद्ध हुन नसक्ने बताउँदै यस विषयमा सही नीति वन्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएकालाई माथि उठाउनेतर्फ नीति निर्माण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका रेशम कँडेलले नेपाली जनताको आर्थिक स्तर उकास्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउए । राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य केहरसिं रानाले अबको पत्रकारिता व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका थिए । उनले ग्रामीण भेकमा बसोवास गर्नेहरुले गरेका प्रगति र सफलताको कथालाई पत्रिकामा महत्व दिनुपर्ने बताए ।
नेकपा मालेका अध्यक्ष धनराज पौडेलले नेपाली जनताको जीवनस्तर उठाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए । अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावलले स्वतन्त्र रुपमा पत्रकारिता गरेर आर्थिक एवं सामाजिक क्षेत्रलाई उठाउन सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तिले सकारात्मक सोंचको विकास गरेर आर्थिक एवं राजनीतिक रुपमा जनतालाई सचेत बनाउन सुझाव दिएका थिए । स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेयले संविधान बनेपछि आर्थिक सम्वृद्धि हुने बताउँदै गाउँको विकास नभई आर्थिक विकास हुन नसक्ने जनाए । राजनीतिक शक्तिबिच एउटै अभिमत हुनुपर्ने बताउँदै कृषिको विकासमा आधुनिकीकरणलाई जोडदिनुपर्ने बताए ।
वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले परम्परागत कृषि प्रणालीलाई अव आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । उहाँले कृषि पर्यटनलाई जोड दिँदै कृषिलाई मर्यादिद बनाउनुपर्ने बताए । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सिंहबहादुर थापाले वनसमूहले मुलुकको अर्थतन्त्रमा सहयोग गरेको बताउँदै ग्रामीण विकासविना अर्थतन्त्रको विकास हुन नसक्ने बताए । पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि यादव कार्कीले ठोस नीति बनाएर अर्थतन्त्रलाई उकास्नुपर्नेमा जोड दिए । उहाँले कृषिलाई ऋण र व्यवसायिकीकरणतर्फ लग्नुपर्नेमा जोड दिए । पाल्पा टाइम्सका सम्पादक झपेन्द्र गहिरेले अवको पत्रकारिता व्यवसायिक भएपनि नीति आउनु जरुरी रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका माधव नेपाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मिलन विक, कार्यक्रममा तानसेन नगरपालिकाका सूचना अधिकृत भरत आचार्य, पत्रकार भगवान भण्डारी, कृष्ण पोखरेल, छवि खनालले पत्रकारिताको विकासकालागि जनसंघर्षको भूमिका महत्वपूर्ण रहेको बताउँदै अवको पत्रकारिता व्यवसायिक नै हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै वुटवल मिडिया प्रकाशन प्रालिका प्रधान सम्पादक बालकृष्ण चापागाई २५ वर्षको समग्र इतिहासलाई खोतल्दै अवको पत्रकारिता व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका थिए । उनले असल राजनीति हुन पत्रकारितामार्फत् सूशासन कायम हुनुपर्ने बताए । वरिष्ठ सम्पादक डिआर घिमिरेले गाउँ, जिल्ला हुँदै क्षेत्र र केन्द्रिय तहसम्म पत्रकारितको विकास गर्नुपर्ने बताए । उनले अर्थतन्त्र दलालपुँजीपतिको हातमा गएको अवस्थामा सञ्चारक्षेत्रले खबरदारी गर्दै लग्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत मनिकर कार्कीले नेपालको विकासमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने अवको बाटो खोज्नुपर्ने बताए । उनले जनसंघर्षको मिसन यात्राले धेरै आरोह अवरोह पार गरेको बताउँदै व्यवसायिक र वैकल्पिक मिडिया जरुरी रहेको बताएका थिए ।
