मनोज घर्तीमगर
भैंचालोपछि पोखरामा पर्यटक आगमन ठप्प भएपछि यहाँका व्यवसायीले भारी छुटको व्यवस्था गरेका छन् ।
भैंचालाले खासै क्षति नपुर्याएपनि पर्यटन गतिवधि शुन्य भएपछि पर्यटक तान्न यहाँका व्यवसायीले यस्तो उपाय रोजेका हुन् । उनीहरुले होटेल, ट्रेकिङ, प्याराग्लाइडिङ, रेष्टुरेन्ट, पर्यटक बस, बञ्जिजम्प, जिप फ्लायएर, अल्ट्रालाइट लगायतमा १५ देखी ५० प्रतिशतसम्म छुटको घोणा गरेका छन् ।
सबैभन्दा बढी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले होटलका कोठामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै प्याराग्लाइडिङ, बन्जी जम्प, अल्ट्रालाइटमा १५ प्रतिशत छुटको व्यवस्था गरिेको छ । हानका अध्यक्ष भरतराज पराजुलीले संघ अन्तर्गत सदस्य रहेका पोखराका सबै होटलमा लागू हुने र सदस्य नरहेका अन्य होटललाई समेत छुट प्रदान गर्न आग्रह गरिने सुनाए । पोखराको पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी होटल क्षेत्रकै छ ।
पोखरामा १३ वर्ष अघि जाउँ है पोखरा कार्यक्रम सुरु गरेर आन्तरिक पर्यटनलाई माथि उठाएको थियो । ठूलो भैंचालो आए पनि पोखरा लगायत अन्नपूर्ण क्षेत्र, बन्दिपुर, बर्दिया, कर्णाली, लगायत दर्जनौं ठाउँहरु सुरक्षित रहेको सन्देश व्यवसायीले दिनुपर्ने पोखरा पर्यटन पुनरुत्थान समिति (पिटिआरसी) का संयोजक गणेशबहादुर भट्टराईले बताए ।
‘सबै क्षेत्रमा एकै पटक दिइएको छुटले सबैखाले पर्यटक पोखरातिर आकर्षित हुनेछन्’ भट्टराईको सुझाव छ,‘तर, सबैले छुटलाई कडाइका साथ लागु गरि सहयोग गर्न आवश्यक छ ।’
