रूद्र श्रीसमगर
पोखरा, १७ जेठ-दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ६, पैयुस्वाँरा र गैरी मुदीका भूकम्प पीडित घर परिवारलाई राहत वितरण गरिएको छ ।
गत वैशाख २९ गते आएको दोस्रो महाभूकम्पको केन्द्रविन्दु दोलखाको सुनखानी नजिकै पर्ने सो गाउँका प्रायः सबै घर ध्वस्त छन् । बास बस्ने घर नै भत्किएपछि भूकम्प पीडितहरू पाल टाँगेर बसेका छन् । केहीबाहेक सदरमुकाम चरिकोटका अधिकांश घरहरू समेत कामै नलाग्ने गरी भत्किएका छन् ।
पोखराबाट शुक्रबार गएको राहत वितरण टोलीले दोलखाको पैंयुँस्वाँरा र गैरी मुदीमा त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री शनिबार आयोजित एक कार्यक्रमका बीच वितरण गरेको हो ।
पश्चिमाञ्चल क्याटरिङ एण्ड पार्टी प्यालेस व्यवसायी सङ्घका अध्यक्ष लीलाबहादुर जिसी, सिद्धार्थ राजमार्ग टोल विकास संस्था, पोखरा–१७ की अध्यक्ष आत्मा तुलाचन, लागू पदार्थ नियन्त्रण तथा सुधार केन्द्र आमा समूहकी विष्णु गुरुङ, बाम्बो क्याटरिङ सर्भिसका सञ्चालक बालकृष्ण श्रेष्ठ, राजीव थापा, ब्लु स्काइ क्याटरिङ सर्भिसका सञ्चालक रामशरण श्रेष्ठ, रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेल, रेडियो जननीकी स्टेशन म्यानेजर विमला भण्डारी, फेवा टेलिभिजन लगायतको पहलमा संकलित राहत सामग्री भूकम्प प्रभावित दोलखामा वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घका अध्यक्ष लीला बहादुर जिसीले भूकम्प प्रभावित विभिन्न जिल्लामा राहत वितरण गरिरहेको जानकारी दिए । भूकम्पले दिएको पीडामा थोरै भएपनि मलम लगाउन आफूहरूले प्रयास गरिरहेको जनाउँदै अध्यक्ष जिसीले सबैको थोपा थोपा सहयोगले भूकम्प पीडितका लागि केही मात्रामा भएपनि राहत वितरण गर्न सकिएको बताए ।
राहत संकलन तथा वितरण संयोजक एवं बाम्बो क्याटरिङ सर्भिसका सञ्चालक बालकृष्ण श्रेष्ठले आफूहरूले आफ्नो व्यवसाय मात्र नभइ सामाजिक उत्तरदायित्व समेत बहन गरिरहेको बताए । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितको घाउमा थोरै भएपनि मलम लगाउने प्रयत्न गरिएको श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा लागू पदार्थ नियन्त्रण तथा सुधार केन्द्र आमा समूहकी निवर्तमान अध्यक्ष शान्तादेवी गुरुङ र सिद्धार्थ राजमार्ग टोल विकास संस्था, पोखरा–१७ की अध्यक्ष आत्मा तुलाचनले भूकम्प प्रभावित विभिन्न जिल्लामा विभिन्न सङ्घ संस्था सँग समन्वय गरी राहत संकलन गरी वितरण गरिरहेको जानकारी गराएका थिए ।
राहत वितरण टोलीमा पाहार ट्रष्टकी कोषाध्यक्ष धना गुरुङ, हिमाली मार्ग महिला समूहकी अध्यक्ष पार्वती पौडेल, उपाध्यक्ष लोक कुमारी गुरुङ, सचिव प्रभा बराल, कोषाध्यक्ष दुर्गा पौडेल, सदस्यद्वय सीता सुवेदी र लक्ष्मी पौडेल, थकाली महिला समूहकी पूर्ण कुमारी शेरचन, रीता शेरचन, मुखिनी बज्यै, दोर्जे गुरुङ, सिद्धार्थ राजमार्ग टोल विकास संस्थाकी सल्लाहकार भगवती गुरुङ, मितेरी नारी समूह, बैदाम–६ की अध्यक्ष मीना भट्टराई, वरिष्ठ सल्लाहकार सुशीला भट्टराई, पत्रकार रूद्रबहादुर श्रीस, भरत ढकाललगायत सहभागी थिए ।
स्थानीय भूकम्प पीडित भैरव बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्का भूकम्पपीडित राजन श्रेष्ठले गरेका थिए ।
