गोविन्द घर्ती
देवदह जेठ ८ । रुपन्देहीको देवदह नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम शित्तलनगरमा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा आमनागरिकले विषयगत कार्यालयको विषयमा जिज्ञासाहरु राखेका थिए । सो क्रममा सहभागिहरुले देवदह नगरपालिका भित्र रहेका विषयगत कार्यालयहरु समयमै नखुल्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेको कार्यालयहरु पादरर्शिता, चुस्त तथा जवाफदेहीता हुनु पर्नेमा जोड दिएका थिए । त्यस्तै हरेक कार्यालयमा नागरिक वडापत्र हुनुपर्ने र वडापत्र नभएका कार्यालयमा तत्काल राख्नु पर्नेमा जोड दिएका थिए ।
छिटो, छरितो र सर्वसुलभ तरिकाले नगरपालिका कार्यालयले नागरिकका कामहरु गर्नु पर्ने जिकिर गरेका थिए । आम नागरिकहरुले उठाएको जिज्ञासाहरुको जवाफ दिदै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरेले नगरपालिकामा थोरै जनशक्तिका बाबजुत पनि धेरै काम गरेको बताए । अधिकृत घिमिरेले देवदह क्षेत्रको विकासको लागि पर्यटकीय गुरुयोजना बनाएर सोहि अनुसार नगरलाई पर्यटकीय रुपमा विकास गर्न लागि रहेको उल्लेख गरे । देवदहमा रहेको ऐतिहासिक स्थल र पुरातात्वीक क्षेत्रको विकास, संरक्षण र सम्वर्द्धन गर्न नगपालिकाले योजना तयार गरि अगाडी बढ्ने अधिकृत घिमिरेको भनाई रहेको छ । अधिकृत घिमिरेले नेतालाई समाएर काम गर्ने पद्धति गलत भएको बताए ।
देवदहको सडक विस्तारको लागि गुरुयोजना निर्माण भएको बताएका थिए । देवदह क्षेत्रमा भएका अधिकांश घरहरु वन क्षेत्रमा पर्ने भएकाले घर नम्वर दिन नगरपालिकालाई गाह्रो भएको अधिकृत घिमिरेले बताएका छन । घिमिरेले देवदह क्षेत्रमा रहेका शैक्षिक व्यक्तित्व, राजनैतिककर्मी, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थामा आवद्ध व्यक्ति र सम्पूर्ण देवदह बासी मिलेर नगरको विकास गर्न लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा देवदह नगर क्षेत्र विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, केरवानी उपस्वास्थ्य चौकीका प्रमुख ईश्वरीप्रसाद ढुङ्गाना, सेक्टर वन कार्यालयका रेञ्जर वसन्त दहाल, ईलाका वन कार्यालयका वलराम पोखरेल, पशुसेवा कार्यालयका ईन्द्रबहादुर खड्का, कृषि सेवा कार्यालयका लक्ष्मी आर्चाय लगायतले कार्यालयको सेवा सुविधा वारे जानकारी गराएका थिए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षता र यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
