गोविन्द घर्ती
रुपन्देही-रुपन्देही जिल्लाको देवदह नगरपालिका क्षेत्र भित्र फोहोर व्यवस्थापन हुन नसक्दा नगर क्षेत्र प्रदुषित हुदै गएको छ ।
बुटवल उपमहानगर पालिकाको औद्योगिक क्षेत्र देखि नवलपरासीका सुनवल नगरपालिका सम्म पर्ने करिव १५ किलोमिटर क्षेत्रमा फालिएको फोहोरको कारण नगर क्षेत्र प्रदुषित हुनुको साथै दुर्गन्धित बन्दै गएको छ । बुटवल उपमहानगर पालिकाको नगर क्षेत्रबाट निस्कने फोहोर मैला देवदह नगरपालिकाको वन क्षेत्रमा फालिने गर्दा देवदह नगर क्षेत्र प्रदुषित बन्दै गएको हो ।
बुटवल उपमहानगर पालिकाबाट देवदह नगरपालिकाको चरङ्गे र भलुहीको वीचमा पर्ने जंगल क्षेत्रमा अव्यवस्थित तरिकाले जथाभावी फोहोर फाल्दा प्रदुषण दिनप्रति दिन बढ्दै गईरहेको स्थानीयवासीको भनाई रहेको छ । अव्यवस्थित रुपमा फालिएको फोहोर मैलाका कारण गर्मी याममा सरुवा रोग फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन् । आफनै नगर क्षेत्रबाट निस्कने फोहोर मैलालाई व्यवस्थापन गर्न कठिनाई भईरहेको अवस्थामा बुटवलबाट समेत फोहोर मैला देवदह क्षेत्रको जंगलमा जथाभावी फाल्दा समेत देवदह नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयवासीको भनाई रहेको छ । देवदह नगरपालिका भित्र पर्ने खैरेनी बजार, भलुही बजार, ६ नम्वर चोक लगायतका बजार क्षेत्रबाट निस्कने फोहोर सही तरिकाले व्यवस्थापन गर्न नसक्दा बजार कुरुप बन्दै गईरहेको छ ।
दैनिक रुपमा व्यापार व्यवसाय गर्दा बजारबाट निस्कने फोहोर अथवा दैनिक आवश्यकीय सामाग्री प्रयोग गर्दा निस्कने घरेलु फोहोर होस, दुवैको सही तरिकाले व्यवस्थापन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । देवदह नगरपालिकाले फोहोर व्यवस्थापन गर्न एउटा ट्रयाक्टर प्रयोग गरेपनि ट्रयाक्टर नियमित प्रयोग नहुदा सही तरिकाले फोहोर व्यवस्थापन हुन नसकेको स्थानीयवासीको भनाई रहेको छ । बजारबाट निस्कने फोहोरलाई देवदह नगरपालिकाले उचित ठाउमा उचित तरिकाले विर्सजन लगर्नुपर्ने भलुही बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर विकको भनाई रहेको छ । नगरपालिकाले डम्पिङ्ग साईड निर्माण गर्न नसक्दा भलुही बजार क्षेत्रबाट निस्कने फोहोर रोडको नजिक घोलामा फाल्न वाध्य भएको अध्यक्ष विकको भनाई रहेको छ । बजारबाट निस्कने फोहोर र सेनेटरीबाट निस्कने फोहोर व्यवस्थापनको लागि नगरपालिकाले यथासिध्र डम्पिङ्ग साईड निर्माण गर्नु पर्ने अध्यक्ष विकको जोड रहेको छ ।
देवदह बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ठड्राई भने अहिले खैरेनी बजारको फोहोर व्यवस्थापन नगरपालिकाले गरिरहेको बताए । अन्य क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि कुनै आवाज नआएको अध्यक्ष ठड्राईको भनाई रहेको छ । देवदह क्षेत्रलाई सफा, स्वच्छ र हराभरा बनाउन नगरपालिकाले विशेष ध्यान दिएर फोहोर व्यवस्थापन गर्नु पर्ने ठड्राईको भनाई रहेको छ । व्यापारी र घरभाडामा लगाउने घरधनीबाट फोहोर व्यवस्थापन शुल्क लिएर नगरपालिकाले सही ठाउमा सही तरिकाले व्यवस्थापन गर्नु पर्ने अध्यक्ष ठड्राईको भनाई रहेको छ । त्यसैगरी ६ नम्वर बजार ढेकावर बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश खाती बजारको फोहोर व्यवस्थापन गर्न कठिनाई भएको बताउछन ।
हालसम्म खोल्सामा लगेर फाल्न वाध्य भएको खातीको भनाई रहेको छ । आगामी दिनमा नगरपालिकाको ट्रयाक्टर प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने खातीले बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे भने फोहोर व्यवस्थापनमा नगरपालिका लागिपरेको बताउछन । टोल सुधार समिति मार्फत सरसफाई कार्य गर्नको साथै सम्पदा र सम्पत्तिको संरक्षण गर्न नगरपालिका लागि परेको घिमिरेको भनाई रहेको छ । हालसम्म खैरेनी बजार नियमित रुपले नगरपालिकाको ट्रयाक्टरद्धारा फोहोर व्यवस्थापन गर्र्दै आएको र हाल ६ नम्वर बजारबाट समेत माग आएकोले ट्रयाक्टर प्रयोग गरेर फोहोर उठाउने बताए।
अन्य बजारबाट भने फोहोर व्यवस्थापनमा सहयोग गर्न माग नआएको कारण सम्वन्धीत बजारलाई सचेत गरिएको घिमिरेको भनाई रहेको छ । बुटवलबाट आउने फोहोरलाई रोक्नको लागि प्रहरी संग समन्वय गरीरहेको घिमिरेको भनाई रहेको छ । देवदह क्षेत्रमा उत्पादन हुने फोहोर व्यवसथापन गर्नको लागि निजी क्षेत्र, नगरपालिका र समुदायमा आधारित संघसंस्था सवैको ध्यान जान जरुरी देखिन्छ ।
