गोविन्द घर्ती
देवदह बैषाख २७ । नेपालको आर्थिक विकासमा भुपु सैनिकहरुको अह्म भूमिका भएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले नेपालको हरेक आन्दोलनमा भूपु सैनिकहरु अग्रपंक्तिमा रहे पनि राज्यले भूपुहरुको मागलाई वेवास्ता गर्ने गरेको बताएका छन् । भुपु सैनिकहरुको अधिकार स्थापित गर्ने हो भने भुपु सैनिक मन्त्रालय निर्माण गर्नु पर्नेमा जोड दिए ।
स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । अधिवेशनको उद्घाटन गर्दै संयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष धन बहादुर थापाले समाज र राष्ट्रको विकासमा भुपु सैनिकहरुले महत्वपूर्ण भूमिका निभाएको बताएका छन ।
थापाले भुपु सैनिकहरु राजनैतिक र जातियताको आधारमा नलागी आफनो हक र अधिकारको लागि सम्पूर्ण भुपुहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । थापाले जव सम्म राष्ट्रियताको भावना जागृत गर्न सकिदैन तव सम्म देशको विकास गर्न नसकिने बताए ।
परिवारका अध्यक्ष जीत बहादुर पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरे, संयुक्त पुर्व सैनिक एवं प्रहरी महासंघका सल्लाहकार प्रेमलाल गैरे, जिल्ला सैनिक बोर्ड रुपन्देहीका सेक्रेटरी पुरन शाही, अलभारतीय पुर्व सैनिक कल्याणकारी संघका उपाध्यक्ष लक्ष्मीकान्त पाण्डे, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य नमराज पुरी, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, रेडियो देवदहका अध्यक्ष कृष्ण पौडेल, देवदह व्यापार संघका महासचिव माधव ढकाल, मिना गुरुङ्ग, शेरबहादुर पुन लगायतले आ–आफना भनाई राखेका थिए । कोषाध्यक्ष खुमबहादुर सिंह ठकुरीको स्वागत र सचिव कोषबहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
